काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारविरुद्ध कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक पोस्टमा उनले हालको सरकारले ‘भ्रमको खेती’ मात्र गरिरहेको आरोप लगाएका छन्।
शाहले पछिल्लो समय काठमाडौं महानगरको कामकारबाहीबारे विभिन्न भ्रम फैलाइएको भन्दै त्यसको खण्डन गरेका छन्। उनले सरकारलाई चेतावनी दिँदै लेखेका छन्, "सुशासनका लागि जोसँग जुध्न परे पनि तयार छु, तर सम्झौता गर्दिन।"
सरकारको भ्रमको खेती – बालेनको जवाफ
बालेन शाहले आफ्नो पोस्टमा सरकारबाट फैलाइएको भ्रामक सूचनाबारे उल्लेख गर्दै ठोस उदाहरण पेश गरेका छन्।
. भ्यू टावरको नक्सा पासबारेको भ्रम
बालेनका अनुसार भ्यू टावरको नक्सा पास गर्ने अधिकार मेयरसँग छैन, तर सरकारले उनीमाथि नक्सा पास गरेको आरोप लगाएर भ्रम फैलाइरहेको छ। "सामान्य कानुनी ज्ञान भएकाले पनि थाहा पाउँछ कि नक्सा पास गर्ने अधिकार मेयरसँग हुँदैन," शाहले भने।
. कार्यकारी टिक्दैन भन्ने हल्ला
उनको कार्यकालमा चार कार्यकारी परिवर्तन भएका छन्। तीमध्ये दुईलाई भ्रष्टाचारका कारण हटाइएको उनले दाबी गरे। "भ्रष्ट कार्यकारीलाई हटाउनु हाम्रो कर्तव्य हो, सरकारले हटाएका दुई कार्यकारीको कारण महानगर अस्थिर भएको भन्दै सरकार आफैं दोषी साबित भएको छ," शाहले भने।
. कार्यकारी जान मान्दैनन् भन्ने सरकारको लाचारी
शाहका अनुसार सरकार आफ्नै मातहतका कर्मचारीलाई पठाउन नसक्ने अवस्थामा पुगेको छ। "कर्मचारी जान मान्दैनन् भनेर काठमाडौं महानगरलाई दोष दिने सरकार भोलि अपराध रोक्न पनि असफल हुने होइन?" उनले प्रश्न उठाएका छन्।
. कार्यकारी नियुक्तिबारे कानुनी त्रुटि
उनले सरकारलाई ऐन पढ्न सुझाएका छन्। "स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यकारी नियुक्तिको जिम्मा सरकारले लिनुपर्ने हो, तर सरकार झूटो प्रचार गर्दैछ," शाहले आरोप लगाए।
. छानबिन प्रतिवेदन लुकाइयो भन्ने हल्ला
उनका अनुसार कार्यकारी छानबिनको रिपोर्ट बनेकै छैन, तर सरकारले रिपोर्ट लुकाइएको भन्दै भ्रम फैलाइरहेको छ। "लुकाउनलाई रिपोर्ट नै चाहिन्छ, तर सरकार झूटको खेतीमा मस्त छ," उनले भने।
.मन्त्रीसँग समन्वयबारे सरकारको दाबी
बालेनले पटक–पटक मन्त्रीहरूसँग पत्राचार गरी समन्वयको प्रयास गरेको दाबी गरे। तर सरकारले व्यक्तिगत घनिष्ठता खोजेको भन्दै उनले आपत्ति जनाए। "हामी वैधानिक प्रक्रियाबाट समन्वय गर्छौं, व्यक्तिगत सेटिङको संस्कृतिलाई स्वीकार गर्न सक्दैनौं," उनले भने।
‘भ्रष्टहरूसँग झुक्दिन, नाकाबन्दीले फरक पर्दैन’
पोस्टको अन्त्यमा बालेन शाहले सरकारलाई भ्रष्टाचार विरुद्धको लडाइँमा स्पष्ट सन्देश दिएका छन्। "प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौं, विकासका साझेदार हौं," भन्दै उनले सरकारलाई पूर्वाग्रह त्यागेर काम गर्न आग्रह गरेका छन्।
उनले थपे, "महानगरलाई नाकाबन्दी लगाएर थकाउने सोच सरकारले राख्न सक्छ, तर हाम्रो नियतमा फरक पर्दैन।"
सुशासनका लागि बालेनको अडान
बालेन शाहले आफू सुशासनका लागि लड्ने प्रतिबद्धता दोहोर्याएका छन्। "सुशासनका लागि जोसँग जुध्न परे पनि तयार छु, तर सम्झौता गर्दिन," उनले लेखेका छन्।
उनको यो कडा प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक चर्चामा छ। सरकारको आलोचना गर्दै उनले अगाडि बढाएको सुशासन अभियानले काठमाडौं महानगरलाई प्रभावशाली बनाएको छ, तर सरकारसँगको सम्बन्ध भने दिन प्रतिदिन चिसिंदै गएको देखिन्छ।
अब सरकारको जवाफ के आउँछ भन्ने प्रतीक्षा छ।