नेभिगेशन
समाचार

सुनको गहना उपहार : राष्ट्रिय आविष्कार केन्द्रलाई एक अनमोल योगदान,

स्वार्थ, प्रतिस्पर्धा र भौतिक सुख-सुविधाको दौडमा जहाँ मानिसहरू आफ्ना व्यक्तिगत आवश्यकतालाई प्राथमिकता दिन्छन्, त्यहाँ कुनै एक मनकारी आत्माले देश निर्माणको भावनालाई आत्मसात् गरेर आफ्नो अमूल्य गहना अर्पण गरेकी छन्।

महाविर पुन लेख्नुहुन्छ,
आज भेडेटारबाट धरान झर्दै पुस्तकहरू बेच्न जाँदा एउटा अविस्मरणीय क्षणको साक्षी बन्न पाइयो। बजारभन्दा अलि बाहिरको एक टोलमा, एक ३५ वर्षीय बहिनी दौडदै आइन् र सुनको गहना मेरो हातमा राखिदिइन्। मैले लिने अस्वीकृति जनाएँ, तर उनको दृढता टाल्न सकिनँ। "यो मेरो आफ्नै गहना हो, दाजु। बीरगञ्जको कृषि औजार कारखानालाई सहयोगस्वरूप दिन चाहन्छु," उनले भनिन्।

मैले उनको घर नियालें— टिनले छाएको, इँट्टाको गारोले बनेको एउटा सानो घर। सायद, सामान्य आर्थिक अवस्था। तर, त्यो मन… त्यो अद्वितीय आत्मीयता! कुनै फोटो खिच्न पनि मानेनन्, आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरिन्। मात्र आफ्नो थर ‘राई’ भने।

धरान बजार आइपुगेर सुन पसलमा जाँदा थाहा लाग्यो, त्यो गहना ६ आनाको रहेछ, जसको मूल्य करिब ६२,००० रुपैयाँ पर्ने रहेछ। यो तथ्य सुन्दा झन् आश्चर्य लाग्यो— कसरी एक साधारण देखिने व्यक्तिले आफ्नो अमूल्य गहना बिना कुनै लोभ, निस्वार्थ रूपमा देश निर्माणका लागि दान गर्न सक्छिन्?

यस्तो समर्पणले देश बदलिन्छ!

ती बहिनीले बीरगञ्ज कृषि औजार कारखानाका भिडियोहरू युट्युबमा हेरेकी रहिछन्। उनले देखेकी रहिछन्— कसरी कृषि औजार उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन सकिन्छ, कसरी नेपाललाई कृषिमा बलियो राष्ट्र बनाउन सकिन्छ। तिनै सपनाहरूले उनलाई प्रेरित गर्‍यो— देश बनाउने अभियानमा आफूसँग भएको अमूल्य धनसमेत अर्पण गर्न।

यदि देशका हरेक नागरिकले स्वार्थभन्दा माथि उठेर, देशको भविष्यलाई प्राथमिकता दिएर, आफूले सक्ने योगदान गरे भने, नेपाललाई समृद्ध बनाउन कति समय लाग्ला र?

भोकाहरू अब भोकै बस्नुपर्ने छैन, नाङ्गाहरू अब नाङ्गै मर्नुपर्ने छैन!

ती बहिनीको योगदान एउटा सानो घटना मात्र होइन— यो समर्पण, देशप्रेम र त्यागको मूर्त रूप हो। यदि हरेक नेपालीले यस्तै सोच राखे, आफ्नो सानो-सानो योगदान दिए, त के नेपाललाई एक समृद्ध देश बनाउन सम्भव छैन?

हामी धेरैजसो देशको अवस्था गुनासो गर्छौं। तर, समाधान खोज्ने, अघि बढ्ने, आफ्नो तर्फबाट योगदान गर्ने चाहिँ कति जना छौं? त्यो बहिनीले कुनै भाषण दिइनन्, कुनै नारा लगाइनन्, तर कर्मले देखाइदिइन्— देशप्रेम भनेको शब्दले होइन, कार्यले देखाउने कुरा हो।

हामी सबैले भित्रैदेखि सोचौं— के हाम्रो तर्फबाट पनि केही योगदान सम्भव छैन? के हामीले पनि देशको लागि केही गर्न सक्दैनौं?

यदि हामी सबैले यो कुरा आत्मसात् गर्न सक्यौं भने, नेपालीको पीडा मेटिन धेरै समय लाग्दैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update