गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारीहरू, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको छ । कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल चलिरहेको छ ।
गाेष्टीकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनकाे धारणा छ ।
नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेको हुनसक्ने तथापि, अधिकांश अपराध अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी नतिजा ल्याएको उनले उल्लेख गरे ।
अनुसन्धान प्रक्रियालाई अझ परिस्कृत गर्दै नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । ‘प्रहरी गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ । अहिले धेरै अपराध साइबर माध्यमबाट हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधि मैत्री हुनुपर्छ’उनले भने,’प्रहरीले अध्ययन, अनुसन्धानकाे लागि टेक्नोलोजीकाे प्रयाेग बढाउन जरुरी छ ।’
लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती थपिएको छ । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने, लागू औषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
खुला सीमाका कारण राजस्व चुहावट भइरहेको र तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताए । कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तु खुला सीमाबाट भित्रिने कारण नेपाली किसानहरू मर्कामा परेको उल्लेख गर्दै उनले नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने सुझाव दिए ।