काठमाडौं । १५औं महाधिवेशनको प्रक्रिया आरम्भ नहुँदै सत्तारुढ दल नेपाली कांग्रेसमा भावि सभापतिका लागि आधा दर्जन नेताहरुले आकाँक्षा व्यक्त गरेका छन् । १४औं महाधिवेशनमा उम्मेदवार बनेर पराजित भएकादेखि सभापति शेरबहादुर देउवालाई जिताउन सहयोग गरेकासम्म आधा दर्जनले सभापतिमा आकाँक्षा देखाएका हुन् ।
यता उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि भावि सभापतिमा दाबी पेश गरेका छन् । आइतबार सुर्खेत पुगेका सिंहले पार्टीलाई एकीकृत र संगठित गर्नका लागि आफू उम्मेदवार हुनै पर्ने बताए । उनले आफू सभापति भएदेखि पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुने र सबै पक्षले मिलाएर लैजाने योजना पनि सुनाए ।
गत १४औं महाधिवेशनमा सभिापतिमा उठेर दोस्रो चरणमा देउवालाई सघाएका सिंहले आफू त्यो भन्दा तल जाने ठाउँ नरहेको सुनाउँदै भावि सभापतिमा उठ्ने प्रष्ट संकेत गरेका हुन् । ‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ।
कांग्रेसको विधान अनुसार २०८२ सालको मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने छ । यद्यपि विधानले थप एक वर्ष कार्यकाल लम्ब्याउन मिल्ने र संविधानले अर्को ६ महिना म्याद थप्न सक्ने व्यवस्था गरेको हुँदा देउवाले थप डेढ वर्ष पार्टीको नेतृत्व गर्ने देखिन्छ ।
विधानत: देउवाले तेस्रो कार्यकाल पार्टीको नेतृत्व गर्न पाउँदैनन् । त्यसैले पनि उनी कानूनले दिएको अधिकतमा सीमाको उपयोग गर्ने रणनीतिमा छन् । देउवा सभापतिको दौडबाट स्वत” बाहिरिने हुँदा हाल कांग्रेसमा सभापतिको खोजी भइरहेको छ ।
सभापतिका लागि गत महाधिवेशनमा पराजित डा शेखर कोइराला, हालका उपसभापति पूर्णबहादुर खड्का, पूर्णबहादुर खड्का, पूर्व उपसभापतित्रय सिंह, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले दाबी गरेका छन् भने संस्थापन बाटै महामन्त्री गगन थापाले देउवाको उत्तराधिकारी हुने प्रयास गरिरहेका छन् ।