नेभिगेशन
समाचार

हामीले काम गर्ने अवसरै नपाएर मुलुक नबनेको हो : शंकर पोखरेल

हामीले काम गर्ने अवसरै नपाएर मुलुक नबनेको हो : शंकर पोखरेल

काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताए।

एमाले पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको उनको जिकिर थियो।

“विसं २०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन। कमजोर धरातलमा गरिएको एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो”, महासचिव पोखरेलले भने।

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए। “मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ। अब हाम्रो समय अलमलमा बित्दैन। हाल देखिएका समस्या समाधानका लागि काम भइरहेको छ। नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ”, महासचिव पोखरेलको भनाइ थियो, “लगानीको वातावरण तयार भएको छ। ब्याजदर घटेको छ। पुँजीगत खर्च वृद्धि भएको छ। पहिलेभन्दा कर उठ्न थालेको छ। मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update