नेभिगेशन
समाचार

बाँके जिल्लाका (CDO) माथि कोहलपुर नगरपालिकाका मेयरको गम्भीर आरोप

कोहलपुर, बाँके – बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) को सरुवाको खबरसँगै कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका छन्।

मेयर आचार्यले सीडीओमाथि कक्षा १० को SEE परीक्षा केन्द्र निर्धारणमा केही संस्थागत विद्यालयहरूसँग सौदाबाजी गरेको आरोप लगाएका छन्। उनले फेसबुक पोस्टमार्फत राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरू नैतिक रूपमा भ्रष्ट भए समाजमा त्यसको गहिरो प्रभाव पर्ने बताएका छन्।

अनुचित चलखेलको आरोप 

मेयर आचार्यका अनुसार, (CDO)ले परीक्षा केन्द्र हेरफेर गर्ने बहानामा अनुचित निर्णय लिएको र यसले कोहलपुरको मर्यादित परीक्षा प्रणालीमा धक्का पुर्‍याएको छ। उनले यो निर्णय इतिहासले धिक्कार्ने दाबी गर्दै भने, "तपाईं खै कस्तो प्रलोभनमा पर्नु भयो, विस्तारै खुल्दै जाला, तर यसले विद्यार्थीको भविष्य चौपट हुन सक्छ।"

आचार्यले आफूहरू शिक्षामा लगानी, परीक्षा प्रणाली सुधार, र गुणस्तरीय शिक्षाका पक्षमा उभिएको उल्लेख गर्दै अन्यायपूर्ण निर्णयको प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अभिभावकलाई भ्रममा राख्ने तथा विद्यार्थीको भविष्य दाउमा राख्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

उनको पोस्ट सार्वजनिक भएसँगै यस विषयमा व्यापक बहस सुरु भएको छ। हालसम्म सीडीओ पक्षबाट औपचारिक प्रतिक्रिया नआए पनि, यस विषयले बाँके जिल्लाको शैक्षिक प्रशासनमा प्रश्न उठाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update