राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पासवानले घटना भएको १५ दिन हुँदा पनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 'संसदमा सांसदहरूले उठाएका मुद्दाको कार्यान्वयन किन हुँदैन, संसदमा सांसदहरूले उठाएको विषयको कार्यान्वयन हुँदैन भने हामी संसदमा बोल्नु के अर्थ छ, जनतालाई हामीले के जवाफ दिने हो,' उनले भने। सांसद पासवानले सदाको बलात्कार घटनाको सम्बन्धमा पटक–पटक संसद्मा कुरा उठाउँदासमेत सुनुवाइ नभएको उल्लेख गर्दै असन्तुष्टि जनाए।
'बलात्कार भएको घटना भएको आज १५ दिन भएको छ, तर अहिलेसम्म सरकारले संसद्मा आएर जवाफ दिएको छैन, प्रहरीले घटनामा सङ्लग्न व्यक्तिलाई अहिलेसम्म समाउन सकेको छैन, जतिसक्दो चाँडो दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु,' उनले भने।
गत माघ ३० गते नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार भएको थियो। माघ २७ गते राति शौच गर्न घर बाहिर निस्केकी रिङ्कुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कार भएको थियो। उनी भोलिपल्ट बिहानमात्रै घर पुगेकी थिइन्।
वडा सदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो। सोही साँझ (माघ ३० गते) पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भित्र झुण्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारले शङ्कास्पद भनेको छ। सदाको बलात्कार र शङ्कास्पद मृत्यु घटनामा आठ जनाविरुद्ध बिहीबार पूरक जाहेरी दर्ता भएको छ ।