नेभिगेशन
समाचार

लिच्छविकालीन अवस्थादेखिका अक्षरमा भएका इतिहासलाई हामी चित्रमा देखाइरहेका छौं ।

इतिहासकारहरु लिच्छविकालीन राजा मानदेव प्रथमलाई नेपालको पहिलो प्रामाणिक राजा मान्छन् । अनि, पाँचौं शताब्दीताका उनै मानदेवले ल्याएको मुद्रा ‘मानाङ्‌क’ नेपालको पहिलो मुद्रा ।

काठमाडौं आएर चित्रकलामा भविष्य खोजिरहेका ऋद्धिसागर सुवर्णकारले मानाङ्‌कबारे धेरथोर सुनेकै थिए । तर, यसको ऐतिहासिकताबारे ज्ञानको लामो दूरी छिचोलेका थिएनन् ।

अहिले तिनै सुवर्णकार काठमाडौंको मालीगाउँको एक भित्तामा मानाङ्‌क कोरिरहेका छन् । भित्तामा चित्र कोर्नुअघि उनले लिच्छविकालीन मानाङ्‌कबारे बुझे, बनोट हेरे र कुची चलाउन थाले । अब उनी ढुक्क छन्, ‘मैले कोर्दै सिकें । अब यो चित्र हेर्दै अरुले पनि नेपालको पहिलो मुद्राबारे थाहा पाउनेछन् ।’

काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा अहिले काठमाडौंका विभिन्न ठाउँका भित्ता यहाँको संस्कृति, इतिहास र सभ्यता झल्किने ‘मुरल आर्ट’ कोरिरहेको छ । यही भित्ते चित्र कोर्ने ‘प्रोजेक्ट’मा करिब एकहप्ता अघिमात्रै जोडिन आइपुगेका सुवर्णकार निकै खुसी छन् ।

काठमाडौंको सहरी सौन्दर्य बढाउन महानगरले करिब एक वर्षदेखि विभिन्न सार्वजनिक स्थानका भित्तामा रंगीन चित्र बनाइरहेको छ । चित्र बनाउन महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग २०८० फागुन १७ गते सहकार्य गर्ने सम्झौता गरेको थियो ।

सोहीअनुसार हाँडीगाउँको ऐतिहासिकता झल्काउने गरी कलाकारहरुले अंशुबर्माकालीन कैलाशकुट दरबार, मानदेवको पालाको मानगृह, मानाङ्‌क मुद्रा तथा हाँडीगाउँ जात्राका रंगीन चित्र कोरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update