नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय राखेकाेमा विराेध गरेकाे छ। संघले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय राखेकाेमा विराेध जनाएकाे हाे।
समितिका अध्यक्ष किशोर भण्डारी र सचिव अश्विन दुवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ, 'विश्वविद्यालय शान्ति क्षेत्र हो। शैक्षिक र अनुसन्धानात्मक क्रियाकलाप हुने विश्वविद्यालय डर, त्रास र भय रहित हुनुपर्ने विश्व मान्यता छ। विश्वविद्यालय परिसरमा हरेक विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले शान्त वातावरणमा आफ्ना शैक्षिक गतिविधि संचालन गर्न पाउने अधिकार हुन्छ।'
नेवि संघले विश्वमा कुनै पनि विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय राख्न नमिल्ने कुरा सामान्य मान्यता भएकाे जनाएकाे छ।
विगत केही समयदेखि त्रिभुवन विश्वविद्यालय परिसरभित्र प्रहरी कार्यालय राखिनुले विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूलाई असहज र मानसिक दबाबमा पार्ने सम्भावना उत्पन्न गर्न सक्ने र यस कार्यलाई विश्वविद्यालयको स्वतन्त्रता र शैक्षिक वातावरणको अवमूल्यनको रूपमा नेवि संघले लिएकाे छ।
संघले प्रहरी कार्यालयको स्थापना शैक्षिक संस्थाको स्वायत्तता र शान्तिपूर्ण वातावरणको विपरीत भएकाे ठहर गरेकाे छ।
'विश्वविद्यालयको मूल उद्देश्य शिक्षा दिने र अनुसन्धानको प्रवर्द्धन गर्नु हो। शान्त वातावरण विभिन्न किसिमका अनुसन्धान र खोज अगाडि बढाउनुपर्ने विश्वविद्यालयमा प्रहरी कार्यलयको स्थापनाले शैक्षिक गतिविधिहरूको स्वच्छ र खुलेर संचालनमा अवरोध पुऱ्याउँछ र विश्वविद्यालयको शान्तिपूर्ण वातावरणलाई नष्ट गर्दछ,' विज्ञप्तिमा भनिएकाे छ।
नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले प्रहरी कार्यालयलाई विश्वविद्यालय परिसरबाट तत्काल हटाउन त्रिभुवन विश्वविद्यालय प्रशासन र सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायसँग जोडदार माग गरेकाे छ। यस कदमले शैक्षिक वातावरणलाई थप सहज र सुरक्षित बनाउने र विश्वविद्यालयको स्वतन्त्रता र स्वतन्त्र सोचको रक्षा गर्नेछ नेवि संघकाे विश्वास छ।
संघले विश्वविद्यालयलाई शैक्षिक हब बनाउने, पठनपाठन मैत्री वातावरण सिर्जना गर्ने र शान्ति क्षेत्र वनाउने कुरामा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सधैं प्रतिबद्ध रहेको जनाएकाे छ।
नेवि संघले गृह मन्त्रालय, सिंहदरवार काठमाडौँ, शिक्षा मन्त्रालय, सिंहदरबार काठमाडौँ, उपकुलपतिको कार्यालय त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, जिल्ला प्रहरी कार्यालय, काठमाडौँ, प्रहरी कार्यालय, कीर्तिपुरलाई बाेधार्थ समेत राखेकाे छ।