भारतीय जनता पार्टी (भाजपा)ले ७० सीट रहेको दिल्ली विधानसभामा ४८ सिटमा जित हासिल गरेको छ भने हाल सत्तामा रहेको आम आदमी पार्टी (आप) २२ सीटमा समेटिएको भारतको निर्वाचन आयोगको विवरण छ।
कुल ३५ भन्दा बढी सीट जित्ने दलले सरकार बनाउन सक्छ।
"विकासको जीत, सुशासनको विजय," मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्नो पार्टीले दिल्लीको विकासमा "कुनै कसर नछाड्ने" बताएका छन्।भारतीय मतदातामाझ मोदीको लोकप्रियतालाई सुदृढ बनाउन दिल्लीमा भाजपाको जीत राजनीतिक रूपमा महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन्। उनको पार्टीले पछिल्लो आम चुनावमा भने स्पष्ट बहुमत गुमाएको थियो।
आपका लागि यो पराजय एउटा ठूलो झट्का हो। एउटा सानो दल भए तापनि सहरमा शिक्षा र स्वास्थ्य सुविधाहरू सुधार गर्न ध्यान केन्द्रित गरेकोमा दिल्लीमा सत्ता सम्हालेका प्रारम्भिक वर्षहरूमा आपको प्रशंसा हुने गरेको थियो।
केजरीवारको दल पञ्जाब राज्यमा पनि सत्तामा छ। तर यतिखेर आफ्नो भविष्यबारे प्रश्नहरू उठाइएको यस दलका लागि दिल्लीको आफ्नो वर्चस्व कायम राख्नु सङ्कटमाथिको विजय हुने थियो।मध्यमवर्गमा केजरीवालको भ्रष्टाचार विरोधी अडानका कारण कुनै समय चुलिएको आपप्रतिको आकर्षण एक दशकभन्दा बढी दिल्लीको सत्तामा रहेपछि घटेको छ।
मध्यमवर्गको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका केजरीवालले गरिबको पार्टी बन्ने बाटो रोजेका थिए।
गरिब र दिल्लीमा सङ्घर्षरत मजदुर वर्गले उनलाई कहिलेबाट साथ दिन छाडे भन्ने अझै प्रस्ट भएको छैन।
भ्रष्टाचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरीवाल स्वयंको गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति पुर्याउँदा देखा परेको रिक्ततालाई भाजपाले तत्काल सदुपयोग गर्यो।
विशाल स्रोत र शक्तिशाली चुनावी संयन्त्रसहितको भाजपाले राज्य र सङ्घीय सरकारहरू एउटै पार्टीले स्थिरता र सुशासनसहित चलाउने वाचा गरेको थियो।
झण्डै ३० वर्षमा भाजपाले दिल्लीमा ल्याएको पहिलो बहुमत एउटा ऐतिहासिक जीत हो। यसको परिवर्तनको सन्देशले काम गर्यो। अनि यसको राजनीतिक र आर्थिक बलले ठूलो जीत दिलायो।केजरीवाल चुनावमा पराजित भए भने बहालवाला मुख्यमन्त्री आतिशीले झिनो अन्तरले जित हासिल गरिन्
हरियाणा र महाराष्ट्र राज्यहरूमा ताजा जीतले गत वर्षको आम चुनावमा पराजयपछि भाजपा तङ्ग्रिन खोजेको देखाउँछ।
दिल्लीमा पकड गुमेपछि विपक्षीहरू चिन्तामा छन् भने भाजपा उच्च मनोबलसाथ अर्को चुनावी चक्रमा प्रवेश गर्दैछ।
आपका शीर्ष नेताहरू केजरीवाल र मनिष सिसोडिया पराजित भएपछि शनिवार आपमा ठूलो निराशा छायो। बहालवाल मुख्यमन्त्री आतिशी समेत झिनो अन्तरको जित हासिल गर्न सफल भइन्।
कुल ६० प्रतिशतभन्दा भन्दा बढी योग्य मतदाताहरूले मतदान गरेको चुनावमा धेरैजसो एक्जिट पोलले भाजपाले पूर्ण बहुमत ल्याउने भविष्यवाणी गरेका थिए। तर विगतमा त्यस्ता भविष्यवाणीहरू गलत समेत साबित भएका थिए।