नेभिगेशन
प्रवास

भारत–पाकिस्तानबीच तनाव चुलियो, तेस्रो रात पनि ड्रोन र मिसाइल हमला

भारत–पाकिस्तानबीचको सीमा तनाव झन् चुलिँदै गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, पाकिस्तानले शुक्रबार राति लगातार तेस्रो रात जम्मू–कश्मीर र राजस्थानसम्म ड्रोन तथा मिसाइल आक्रमण गरेको छ।

भारतले भने आफ्ना ‘एयर डिफेन्स सिस्टम’ मार्फत पाकिस्तानी हमला निस्तेज पार्न सफल भएको दाबी गरेको छ। पाकिस्तानले भारतका २६ स्थानमा ड्रोन आक्रमण गरेको बताइएको छ।

सुरक्षा संवेदनशीलता बढ्दै जाँदा भारतले १५ मेसम्म ९ राज्यका ३२ विमानस्थल बन्द गर्ने निर्णय गरेको छ। बन्द गरिएका विमानस्थलहरू जम्मू–कश्मीर, लद्दाख, हिमाञ्चल प्रदेश, पञ्जाब, चण्डीगढ, राजस्थान, हरियाणा, गुजरात र उत्तर प्रदेशमा रहेका छन्।

यसैबीच, पाकिस्तानी सेनाले भारतविरुद्धको प्रत्याक्रमणलाई औपचारिक मान्यता दिएको घोषणा गरेको छ। टेलिभिजनमार्फत पाकिस्तानी सेनाले आफ्नो अपरेशनलाई ‘अपरेसन बानयन मर्सस’ नाम दिएको जनाएको छ।

यसअघि भारतले पाकिस्तानका विभिन्न भागमा ड्रोन तथा मिसाइल हमला गर्दै ‘अपरेसन सिन्दुर’ सञ्चालन गरेको थियो। पाकिस्तानले भारतीय आक्रमणको जवाफस्वरूप प्रत्याक्रमण सुरु गरेको बताएको छ। यद्यपि पाकिस्तानले औपचारिक घोषणा गरेर मात्रै आक्रमण सुरु गर्ने भनिरहे पनि पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा बमबारी जारी रहेको छ।

क्षेत्रीय सुरक्षा विशेषज्ञहरूले यो तनावले थप जटिल अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्। दुबै पक्षबाट आक्रमण र प्रत्याक्रमण जारी रहेकाले सीमा क्षेत्रमा तनाव उत्कर्षमा पुगेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update