नेभिगेशन
समाचार

वसन्त ऋतुमा १,१९५ आरोहीलाई हिमाल आरोहण अनुमति, सरकारलाई रु १ अर्ब २६ करोडभन्दा बढी राजस्व

सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न ३१ वटा हिमाल आरोहणका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस अवधिमा हिमाल आरोहण अनुमति शुल्कबाट सरकारले रु १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ।


पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा आरोहणका लागि मात्र ४९५ जनाले अनुमति लिएका थिए। तीमध्ये ५६ देशका ३९० पुरुष र १०५ महिला रहेका छन्। अनुमति प्राप्त आरोहीसँगै गाइड तथा सहयोगीहरू समेत गरी एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन्।


यस वर्ष आरोहण अनुमति लिनेमा चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७० तथा नेपालका ४४ जना रहेका छन्। सगरमाथा आरोहण गर्नेमा पनि चीनका १०९ जना सबैभन्दा बढी रहेका छन्।
सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले आफ्नो विश्व कीर्तिमान थप सुदृढ बनाएका छन्। त्यस्तै महिला आरोहीतर्फ लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोडेकी छन्।


राजस्वतर्फ सगरमाथाबाट मात्र रु १ अर्ब ८ करोड १० लाख ७२५ सङ्कलन भएको छ। यसबाहेक लोत्सेबाट रु ६ करोड ६८ लाख, मकालु प्रथमबाट रु ३ करोड १७ लाख, आमादब्लमबाट रु १ करोड ६६ लाख, कञ्चनजङ्घाबाट रु १ करोड ६५ लाख तथा अन्नपूर्ण प्रथमबाट रु १ करोड २० लाखभन्दा बढी राजस्व प्राप्त भएको पर्यटन विभागले जनाएको छ।
नेपालका हिमालहरूमा बढ्दो अन्तर्राष्ट्रिय आकर्षणका बीच यस वर्षको वसन्त आरोहण सिजन सफलतापूर्वक सम्पन्न भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update