वीरेन्द्रनगर नगरपालिका–३ स्थित श्री हरिडिल भुमी माध्यमिक विद्यालयले कक्षा ११ सञ्चालन गर्न औपचारिक अनुमति प्राप्त गरेको छ । जेठ ८, २०८३ मा वीरेन्द्रनगर नगरपालिकाबाट अनुमति प्राप्त भएसँगै विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा खुसी छाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल चालिसेका लागि यो उपलब्धि केवल प्रशासनिक अनुमति मात्र नभई वर्षौंदेखि देखेको शैक्षिक सपना साकार भएको क्षण बनेको छ । विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित निरन्तर सक्रिय रहेका अध्यक्ष हमालले विद्यालयमा विभिन्न शैक्षिक सुधारका काम अघि बढाएका थिए ।
उनकै नेतृत्वमा विद्यालयमा शैक्षिक वातावरण सुधार, अनुशासन व्यवस्थापन, विद्यार्थीमैत्री गतिविधि विस्तार, भौतिक संरचना सुदृढीकरण तथा गुणस्तरीय शिक्षामा जोड दिइएको स्थानीयले बताएका छन् । विद्यालयको स्तर उकास्न शिक्षक, अभिभावक र समुदायबीच सहकार्य बढाउने कार्यमा पनि अध्यक्ष हमालले महत्वपूर्ण भूमिका खेलेका छन् ।
विद्यालयले जारी गरेको धन्यवाद सन्देशमा यो उपलब्धि सामूहिक मेहनत, विश्वास, एकता र निरन्तर सहयोगको परिणाम भएको उल्लेख गरिएको छ । विद्यालयको विकासमा साथ दिने सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी, अभिभावक, विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समिति पदाधिकारी, समाजसेवी, बुद्धिजीवी तथा वडा नं. ३ का स्थानीयवासीप्रति आभार व्यक्त गरिएको छ ।
अध्यक्ष बालकृष्ण हमाल चालिसेले आगामी दिनमा विद्यालयलाई सुर्खेतकै उत्कृष्ट, गुणस्तरीय र विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कक्षा ११ सञ्चालनको अनुमति प्राप्त भएसँगै अब स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा सहज रूपमा उच्च माध्यमिक तह अध्ययन गर्ने अवसर थप विस्तार भएको छ।