बाजुरा र हुम्लाको सीमावर्ती रानीसैन पर्यटकीय क्षेत्रमा भएको विवादपछि कर्णाली कोरिडोर सडक अवरुद्ध भएको छ । मङ्गलबार हुम्लाका खार्पुनाथ गाउँपालिकाका स्थानीयले बाजुराका बासिन्दामाथि आक्रमण गरेको आरोप लगाउँदै बाजुरावासीले बिहीबार बिहानदेखि सडक बन्द गरेका हुन् ।
घटनामा घाइते भएका चार जनालाई थप उपचारका लागि बुधबार हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । आन्दोलनका कारण बाजुरातर्फबाट हुम्ला जाने सम्पूर्ण सवारीसाधन रोकिएका छन् ।
बाजुराका स्थानीयले आक्रमणकारीमाथि कानुनी कारबाही, घाइतेको उचित उपचार र रानीसैन क्षेत्रको जमिनबारे सत्यतथ्य छानबिन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
हिमाली गाउँपालिका–६ का स्थानीय उमेश रोकायाले हुम्लावासीले हिमाली गाउँपालिकाका नागरिकमाथि आक्रमण गरेको भन्दै विरोधस्वरूप कर्णाली कोरिडोर अवरुद्ध गरिएको बताए । उनले विवादित क्षेत्रको स्वामित्वबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।
मङ्गलबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहितको टोली हिमाली गाउँपालिका पुगेको समयमा विवाद भएको थियो ।
टोलीमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, जनप्रतिनिधि, कर्मचारी तथा सामाजिक अभियन्ताहरू सहभागी थिए ।
हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने लाम्पाटा र चियाचौर क्षेत्र बाजुराभित्र पर्ने दाबी बाजुरावासीको छ । तर हुम्लाका स्थानीयले उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएका छन् ।
स्थानीय पेम्बा गुरुङका अनुसार लाम्पाटामा अहिले पनि बाजुराका करिब १० परिवार बसोबास गर्दै आएका छन् । हुम्लाका केही स्थानीयले ती घरसमेत आफ्नो भएको दाबी गर्न थालेपछि विवाद चर्किएको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सीमा विवाद समाधानका लागि छानबिन भइरहेको बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले दुई जिल्लाबीच शान्ति सुरक्षा कायम गर्न समन्वय भइरहेको जानकारी दिए ।
उनले गृह मन्त्रालयलाई समेत घटनाबारे जानकारी गराइसकिएको भन्दै सीमा सम्बन्धी विषयमा सम्बन्धित निकायबाट अध्ययन हुने बताए । साथै अवरुद्ध कर्णाली कोरिडोर छिट्टै सञ्चालन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले रानीसैन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा जडीबुटी चोरी नियन्त्रणका लागि ४० लाख रुपैयाँ खर्चेर प्रहरी चौकी स्थापना गर्ने तयारी गरेको थियो । तर हुम्लाका स्थानीयले उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै प्रहरी चौकी स्थापना रोक्न खोजेका थिए ।
हिमाली गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीका अनुसार लाम्पाटाको जमिन हिमाली गाउँपालिका–३ का स्थानीयको नाममा रहेको र त्यसको पुर्जा समेत उनीहरूसँग रहेको दाबी गरिएको छ ।
उनले जडीबुटी ओसारपसारमा रोक लगाइएपछि केही समूहले विवाद सिर्जना गरेको आरोप लगाए ।
जिल्ला नापी कार्यालय बाजुराका प्रमुख आशा पाण्डेले सीमा विवाद समाधान गर्ने अधिकार नापी कार्यालयको नभएको स्पष्ट पारिन् । उनले सीमा निर्धारण र समाधानको जिम्मेवारी नापी विभाग तथा सङ्घीय मामिला मन्त्रालयको भएको बताइन् ।
नापी विभाग काठमाडौँका प्रमुख दयानन्द जोशीले पनि सीमा विवादबारे आफ्नो कार्यालयलाई औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।