नेभिगेशन
समाचार

पश्चिम सुर्खेत रूपान्तरणको लक्ष्य: पूर्वाधारदेखि रोजगारीसम्म सापकोटाको स्पष्ट रोडम्याप

प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि रमेशकुमार सापकोटा ले पश्चिम सुर्खेतलाई समग्र पूर्वाधारसहितको समृद्ध क्षेत्रमा रूपान्तरण गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुर्खेत क्षेत्र नं. २ मा विजयी उनले पहिलो संसदीय कार्यकालमै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचनमा उनले नारायणकुमार कोइराला लाई १४ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै ३० हजार ८३२ मत प्राप्त गरेका थिए। कर्णालीमा रास्वपाको प्रभाव विस्तार गर्ने क्रममा यो जितलाई महत्वपूर्ण मानिएको छ।

राजनीतिक यात्रा नेपाली कांग्रेस बाट सुरु गरेका सापकोटा वीरेन्द्रनगर नगर सचिवकै जिम्मेवारीमा रहँदा दुई वर्षअघि रास्वपामा आबद्ध भएका थिए। हाल उनी रास्वपा सुर्खेतको नेतृत्वसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कर्णाली प्रदेश संयोजकका रूपमा सक्रिय छन्। यातायात क्षेत्रको अनुभवलाई उनले विकास व्यवस्थापनमा उपयोग गर्ने बताएका छन्।

सुर्खेत क्षेत्र नं. २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी, बराहताल र चौकुने गाउँपालिका पर्दछन्। सापकोटाले विशेषगरी पश्चिम सुर्खेतका यी क्षेत्रलाई लक्षित गर्दै सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य र विद्युत् पूर्वाधारमा तीव्र सुधार ल्याउने योजना अघि सारेका छन्।

उनका अनुसार वीरेन्द्रनगर केही हदसम्म पूर्वाधार सम्पन्न भए पनि पश्चिम क्षेत्र अझै आधारभूत सेवाबाट वञ्चित छ। “अबको पाँच वर्ष पश्चिम सुर्खेतको रूपान्तरणको अवधि हुनेछ,” उनले बताए।

पूर्वाधार विकासमा तीव्रता

सापकोटाले सुर्खेत विमानस्थल विस्तार, दिगो फोहोर व्यवस्थापन, सुर्खेत चक्रपथ, भेरी लिफ्ट खानेपानी आयोजना तथा अधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गरिने बताएका छन्।

विशेषगरी एक वर्षभित्र पश्चिम सुर्खेतका सबै बस्तीमा विद्युत् पुर्‍याउने लक्ष्य राखिएको छ। “पोल गाडिएको तर तार नतानिएको अवस्थालाई अन्त्य गर्दै उज्यालो पश्चिम सुर्खेत बनाउनेछौं,” उनले स्पष्ट पारे।

सडक सञ्जाल र पहुँच विस्तार

सुर्खेत–बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडक तथा भेरी नदीस्थित रानीघाट पुल निर्माण सम्पन्न भएपछि पश्चिम क्षेत्रको यातायात सहज हुने अपेक्षा गरिएको छ। यसले व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास लिइएको छ।

रोजगारी र कृषिमा जोड

पश्चिम सुर्खेतका धेरै नागरिक मौसमी रोजगारीका लागि भारत (कालापहाड) जाने अवस्थालाई अन्त्य गर्न सिँचाइ विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने योजना अघि सारिएको छ।

खेतीयोग्य जमिन प्रशस्त हुँदाहुँदै सिँचाइ अभावका कारण उपयोग हुन नसकेको अवस्थालाई सुधार्दै स्थानीयमै रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ।

सुशासन र सहकार्यको प्रतिबद्धता

सापकोटाले अन्य राजनीतिक दलसँग सहकार्य र समन्वयमार्फत विकासका काम अघि बढाउने बताएका छन्। उनले रास्वपाको वाचापत्रअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई सहज बनाउने कार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतलाई नमुना विकास मोडेलका रूपमा स्थापित गर्ने लक्ष्यसहित सापकोटाले अनुभव, योजना र सहकार्यलाई आधार बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update