वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिसा विकको हत्या प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै पीडित परिवार तथा आफन्तले फागुन २७ गते वीरेन्द्रनगर बजार र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिसालाई न्याय देऊ’ र ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित उनीहरूले खबरदारी र्याली निकालेका थिए। सो क्रममा मृतककी आमा तारा विकले प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाको निष्पक्ष छानबिन गर्न ध्यानाकर्षण पत्रसमेत बुझाएकी छन्।
फागुन २३ गते बिहान ‘प्रयोगात्मक कक्षा छ’ भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ बस्दै आएकी इनिसा करिब बिहान ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनी गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी र वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा थिइन्।
घटनाका क्रममा उनीसँगै रहेका वीरेन्द्रनगर–९ का १६ वर्षीय एक बालकलाई प्रहरीले सोही दिन घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि घटनामा संलग्न भएको आशंकामा १५, १६ र १७ वर्षका अन्य तीन जना बालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
मृतकका आफन्तले इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन्।
आमा तिला विकका अनुसार छोरी समयमै घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। फोन गर्दा मोबाइल स्विच अफ रहेको र विद्यालयमा सम्पर्क गर्दा पनि जानकारी नपाएपछि चिन्ता बढेको उनले बताइन्। केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्ने जानकारी दिएको थियो।
घटनास्थल पुग्दा इनिसाको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको तथा एकातिर जुत्ता र अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको आफन्तले बताएका छन्।
मृतकका आफन्तले फागुन २४ गते दिएको उजुरीका आधारमा शवको पोष्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ। तर निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ भने बलात्कार भएको वा नभएकोबारे चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको छ।
यसबीच फागुन २६ गते इन्सेक कर्णाली प्रदेश कार्यालय, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज संस्था, नवज्योति केन्द्र, फेडो, डब्लुएचआरडी, एड्भोकेसी फोरम र वाम संस्था लगायतका संस्थाहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।