नेभिगेशन
समाचार

सुर्खेत–२ मा रमेश सापकोटाको ‘वाचा पत्र’ सार्वजनिक, कृषि–पूर्वाधारदेखि सुशासनसम्म पाँचवर्षे खाका

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट सुर्खेत–२ का उम्मेदवार रमेश कुमार सापकोटाले विस्तृत ‘वाचा पत्र’ सार्वजनिक गरेका छन्।

संविधान र प्रचलित कानुनले संघीय सांसदलाई दिएको अधिकार–जिम्मेवारीको पूर्ण पालना गर्दै सुर्खेत क्षेत्र नम्बर २ को दिगो विकास र नीतिगत सुधारमा केन्द्रित हुने उनको प्रतिबद्धता छ।


सापकोटाले देशलाई स्थिर र सक्षम सरकार आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनलाई “देशको भविष्य तय गर्ने ऐतिहासिक अवसर” का रूपमा व्याख्या गरेका छन्। केन्द्रको प्रतिबद्धता पत्रलाई आधार मानेर सुर्खेतका लागि पाँच वर्षभित्र परिणाम देखिने योजना कार्यान्वयन गर्ने उनले बताएका छन्।


कृषि उत्पादन र बजार सुनिश्चितता


वाचा पत्रमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। दुई वर्षभित्र खेतीयोग्य जमिनको वैज्ञानिक म्यापिङ, सिँचाइ सम्भाव्यता अध्ययन र आवश्यकताअनुसार सिँचाइ पहुँच सुनिश्चित गर्ने लक्ष्य छ। संघीय बजेटबाट तीन वटा मध्यम–ठूला सिँचाइ आयोजना अघि बढाउने, पाँच वर्षभित्र सिँचाइ, कृषि सडक, विद्युत् र थोक संकलन केन्द्रसहित एकीकृत कृषि पूर्वाधार विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
कृषिजन्य उपजको न्यूनतम आधार मूल्य सुनिश्चित गर्ने नीति निर्माण, उत्पादनअघि सम्झौता प्रणालीमार्फत बजार ग्यारेन्टी, कृषि बीमालाई प्रभावकारी बनाउने र ‘युवा कृषि उद्यम अभियान’ सञ्चालन गर्ने उल्लेख छ। जडीबुटी संकलन–प्रशोधन र निर्यात प्रवर्द्धनलाई पनि प्राथमिकता दिइएको छ।


पूर्वाधार र सेवा पहुँच
वीरेन्द्रनगरलाई “ज्ञान–रोजगार केन्द्र” का रूपमा विकास गर्ने तथा चौकुने, पञ्चपुरी र बराहताललाई “आत्मनिर्भर पश्चिम सुर्खेत” अभियानमार्फत अघि बढाउने योजना छ। बड्डीचौर–खम्बागाडे–बाबियाचौर सडकखण्ड, मुलपानी–रानिघाट–तेलपानी–भुरीगाउँ सडक, चिसापानी–कुइने–छाप्रे–जंगालाघाट सडकलगायतका परियोजना समयसीमाभित्र सम्पन्न गर्न पहल गरिने बताइएको छ।
सुर्खेत विमानस्थल स्तरोन्नति, वीरेन्द्रनगरमा सुविधा सम्पन्न प्रादेशिक बसपार्क निर्माण, पाँच वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् र खानेपानी पहुँच सुनिश्चित गर्ने लक्ष्य पनि वाचा पत्रमा समेटिएको छ। अलपत्र योजनालाई ‘फास्ट ट्रयाक’ प्रक्रियाबाट अघि बढाइने उल्लेख छ।


सामाजिक सुरक्षा, पर्यटन र युवा


आर्थिक रूपमा कमजोर नागरिकका लागि कानुनी सहायता हेल्पडेस्क स्थापना, भूमिहीनको पहिचान र भूमि उपलब्धतामा पहल, तथा जनसम्पर्क केन्द्रमार्फत प्रत्यक्ष संवाद कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि क्षेत्र पहिचान, संरक्षण र पूर्वाधार निर्माणसँगै होमस्टे तथा साना उद्यमलाई प्रोत्साहन गर्ने योजना छ। युवालाई स्वरोजगार र प्राविधिक तालिममार्फत आत्मनिर्भर बनाउने, हरेक वर्ष कम्तीमा ५०० जनालाई निःशुल्क तालिम दिने तथा खेल पूर्वाधार निर्माणमा लगानी बढाउने प्रतिबद्धता जनाइएको छ।


स्वास्थ्य, शिक्षा र उद्योग


प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल, स्वास्थ्य बीमा सुधार, प्रविधिमैत्री शिक्षा र “एक पालिका एक नमुना विद्यालय” कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। उद्योगी–व्यवसायीका लागि ‘एकद्वार सेवा प्रणाली’ लागू गरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन गर्ने उल्लेख छ।


सुशासन र उत्तरदायित्व


“भ्रष्टाचार विरोधी महाअभियान” सञ्चालन, डिजिटल प्रशासन विस्तार, मासिक सांसद ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने तथा प्रत्येक वर्ष निर्वाचन क्षेत्रमा ‘जनउत्तरदायित्व यात्रा’ गर्ने प्रतिबद्धता पनि वाचा पत्रमा छ। पाँच वर्षपछि सार्वजनिक सुनुवाइमार्फत “वाचादेखि परिणाम” प्रगति विवरण प्रस्तुत गर्ने घोषणा गरिएको छ।
सुर्खेत–२ मा नीति–कार्यक्रमसहितको विस्तृत वाचा पत्र सार्वजनिक भएसँगै चुनावी बहस एजेन्डामुखी बन्दै गएको देखिएको छ। अब मतदाताले प्रस्तुत योजनालाई कत्तिको विश्वास गर्छन् भन्ने नै निर्वाचनको निर्णायक आधार बन्नेछ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update