नेभिगेशन
समाचार

नेपाली सेनाको २६३औँ वार्षिकोत्सव आज मनाइँदै

नेपाली सेनाले आफ्नो स्थापना दिवसको २६३औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रमका साथ मनाइरहेको छ। महाशिवरात्रिको अवसर पारेर प्रत्येक वर्ष मनाइने सेना दिवसका उपलक्ष्यमा विशेष समारोहको आयोजना गरिएको हो।
सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मुख्य समारोहमा रामचन्द्र पौडेलको प्रमुख आतिथ्य रहनेछ। उनी नेपाली सेनाका परमाधिपति हुन्। समारोहमा शिवरात्रि बढाइँसँगै सैनिक परेड, तोप बढाइँ, कवाज प्रदर्शन तथा सैनिक कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको छ।


सेनाले महाशिवरात्रिको दिनलाई परम्परागत रूपमा सेना दिवसका रूपमा मनाउँदै आएको छ। जङ्गीअड्डामातहतका पृतना, बाहिनी, गण र गुल्महरूमा समेत विशेष कार्यक्रम आयोजना गरिएको छ। साथै कूटनीतिक नियोग तथा शान्ति मिसनमा कार्यरत नेपाली सैनिक टोलीहरूले पनि विदेशमा रहेका स्थानहरूमा दिवस मनाइरहेका छन्।


नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षामा नेपाली सेनाले इतिहासका विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वर्तमान सङ्गठनात्मक स्वरूपको सुरुआत वि.सं. १८१९ सालदेखि भएको मानिन्छ। देशभक्ति, अनुशासन र समर्पणको संस्कारलाई केन्द्रमा राख्दै सेनाले नागरिकबीच विश्वासको छवि निर्माण गरेको छ।
सैनिक वीरपुर्खाहरूको साहस, वीरता र बलिदानकै आधारमा आधुनिक नेपाल राष्ट्रको निर्माण भएको इतिहास स्मरण गर्दै राष्ट्रिय एकता सुदृढ बनाइराख्नु सेनाको संवैधानिक जिम्मेवारीका रूपमा रहेको छ।

सेनामा अनुशासन, ‘चेन अफ कमान्ड’ तथा राजनीति निरपेक्ष चरित्रलाई उच्च महत्व दिइँदै आएको छ।
अन्तरराष्ट्रिय क्षेत्रमा पनि नेपाली सेना शान्ति स्थापनामा सक्रिय सहभागितामार्फत विश्वसनीय फौजको पहिचान बनाउन सफल भएको छ। पछिल्लो समय सैनिक सङ्गठनमा समावेशिता बढ्दै गएको छ भने महिलाको सहभागिता उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको सेनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update