नेभिगेशन
समाचार

परीक्षामा नक्कली परीक्षार्थी, १२ जना पक्राउ

लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी खटाइएको खुलासा भएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १७ गते सञ्चालन भएको परीक्षामा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर सहभागी भएको, नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी किर्ते गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानबाट आर्थिक लाभ लिने उद्देश्यले सक्कली परीक्षार्थीको सट्टा अर्कै व्यक्तिले परीक्षा दिने व्यवस्था मिलाइएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि लिखत किर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा नक्कली परीक्षार्थी, परीक्षा दिने तथा परीक्षा दिन लगाउने व्यक्तिहरू र मतियारसमेत रहेका छन्। पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छः
१) जाजरकोट, छेडागाड नगरपालिका–११ का १९ वर्षीय केशव थापा (नक्कली)
२) दैलेख, दुल्लु नगरपालिका–०१ का १८ वर्षीय रमेश नेपाली (नक्कली)
३) सुर्खेत, गुर्भाकोट नगरपालिका–१३ का २४ वर्षीय वीरबहादुर ठाडा (नक्कली)
४) जाजरकोट, कुसे गाउँपालिका–०२ का १९ वर्षीय विपेश सिंह (परीक्षा दिने)
५) जाजरकोट, जुनेदाचाँदे गाउँपालिका–०१ का १८ वर्षीय ललित रावल (परीक्षा दिन लगाउने)
६) जाजरकोट, कुसे गाउँपालिका–०२ का १८ वर्षीय सूर्य किरण शाही (परीक्षा दिन लगाउने)
७) जाजरकोट, कुसे गाउँपालिका–०२ का २१ वर्षीय निरज शाही (परीक्षा दिने)
८) जाजरकोट, छेडागाड नगरपालिका–१० का १९ वर्षीय चन्द्र शाह (नक्कली)
९) जाजरकोट, कुसे गाउँपालिका–०२ का २३ वर्षीय नवराज विक (नक्कली)
१०) बाँके, बैजनाथ गाउँपालिका–०२ का २४ वर्षीय रामु कार्की (नक्कली)
११) बाँके, बैजनाथ गाउँपालिका–०१ का २५ वर्षीय मोतिलाल थारु (नक्कली)
१२) जाजरकोट, कुसे गाउँपालिका–०२ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–०९ बस्दै आएका २६ वर्षीय पूर्णबहादुर सिंह (मतियार)
प्रहरीले परीक्षाको मर्यादा र निष्पक्षतामाथि गम्भीर असर पार्ने यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update