झण्डै छ वर्षअघि सुरु गरिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण आयोजना अन्ततः निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कर्णाली प्रदेशलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने लक्ष्यसहित २२ असार २०७६ मा सुरु गरिएको यो आयोजना विभिन्न अवरोधका कारण निर्धारित समयभन्दा करिब चार वर्ष ढिला सम्पन्न भएको हो ।
सम्झौताअनुसार २३ असार २०७८ भित्र सम्पन्न हुनुपर्ने आयोजनामा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको जग्गा भोगाधिकार, रुख कटान प्रक्रिया तथा स्थानीय अवरोध प्रमुख चुनौती बनेका थिए । ती अवरोध पार गर्दै सुर्खेतको हर्रे खण्डमा तार तान्ने काम सम्पन्न भएपछि आयोजनाले पूर्णता पाएको हो ।
अब वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा निर्माण गरिएको सबस्टेसनमा शुक्रबार (१६ माघ) देखि उच्च भोल्टेजसहित परीक्षण प्रसारण गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ । हाल छिन्चु–भेरी नदी खण्डमा जम्पर जडानको काम भइरहेको छ भने कोहलपुरदेखि सुब्बाकुना सबस्टेसनसम्मको ५२ किलोमिटर प्रसारण लाइनमा पेट्रोलिङ गरी रुखका हाँगा–बिँगाले तार छोएको–नछोएको जाँच भइरहेको छ ।
आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार शुक्रबार कोहलपुर ग्रिडबाट सुर्खेत सबस्टेसनमा विद्युत् प्रवाह गरिनेछ । औपचारिक उद्घाटनअघि प्रसारण लाइनमा पटक–पटक परीक्षण गरिने उनले बताए । दुर्गम भूगोल, बाक्लो हुस्सु तथा मौसमका कारण ड्रोनमार्फत तार तान्ने क्रममा कठिनाइ भए पनि काम सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र थप रुख काट्नुपर्ने अवस्था आएपछि निकुञ्जको नियमअनुसार काटिएका रुख आयोजनाले नै व्यवस्थापन गर्नुपर्ने भएकाले ड्रोन प्रविधि प्रयोग गरिएको थियो । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका क्रममा करिब १३ हजार रुख काटिएको आयोजनाले जनाएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा भारतीय निर्माण कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले टावर निर्माण तथा तार तान्ने जिम्मेवारी पाएको थियो । कोहलपुरदेखि वीरेन्द्रनगरसम्म कुल १६२ वटा टावर निर्माण गरिएको छ, जसमा सुब्बाकुनास्थित एक टावर ५० मिटर अग्लो र अन्य टावरहरू करिब ३० मिटर उचाइका छन् ।
स्थानीय अवरोधका कारण बानियाँभार क्षेत्रको राष्ट्रिय वनमा सुरक्षाकर्मी परिचालन गरेर रुख कटान गर्नुपरेको थियो । सर्वोच्च अदालतको आदेशपछि आयोजनाको काम अघि बढ्दै अवरोध हटाइएको थियो । सो क्रममा प्रभावित स्थानीयलाई करिब १६ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।
झण्डै चार दशक पुरानो ३३ केभी प्रसारण लाइन विस्थापन गरी उच्च क्षमताको विद्युत् कर्णालीका जिल्लामा पुर्याउने उद्देश्यले यो आयोजना अघि बढाइएको हो । नयाँ १३२ केभी प्रसारण लाइन सुर्खेत हुँदै दैलेख, कालीकोट र जुम्लासम्म विस्तार गरिनेछ । हाल सुर्खेतदेखि दैलेखको चुप्रासम्म प्रसारण लाइन र सबस्टेसन निर्माणको काम भइरहेको छ ।
एंगल टावरसहितको नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि भोल्टेज समस्या, पटक–पटक लाइन अवरुद्ध हुने समस्या समाधान हुने र विद्युत् आपूर्तिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।
सतर्क रहन आयोजनाको आग्रह
परीक्षण प्रसारण सुरु हुन लागेकाले आयोजनाले प्रसारण लाइन आसपासका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । परीक्षण अवधिमा टावरमा नचढ्न, तार तथा विद्युतीय संरचना नछुन, टावर वरिपरि नजान, गाईवस्तु र बालबालिकालाई समेत टाढा राख्न आयोजनाले अनुरोध गरेको छ ।
परीक्षणका क्रममा कुनै स्थानमा झिल्का देखिएमा वा सम्भावित जोखिम देखिएमा तुरुन्तै जानकारी गराउन समेत आयोजनाले स्थानीयवासीलाई आग्रह गरेको छ ।