राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार एक पुरानो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । एक अन्तर्वार्ताको ‘नेपालमा गाई खान पाउनुपर्ने’ भन्ने आशय झल्किने भिडिओ क्लीप सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादको केन्द्रमा आएका हुन् ।
दलित अभियानबाट चर्चामा आएका सुनार यसअघि पनि उत्तेजक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका थिए । उक्त भिडिओ सार्वजनिक भएपछि मतदाताहरूले रास्वपाका उम्मेदवारहरूसमेत सुनारको अभिव्यक्तिबारे प्रश्न गर्न थालेका छन् ।
विवाद चर्किँदा पनि रास्वपाले औपचारिक धारणा सार्वजनिक गरेको छैन । साना विषयमा पनि प्रतिक्रिया दिँदै आएका पार्टी नेताहरू यस विषयमा भने मौन देखिएका छन् ।
यस विषयमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आफू चुनावी क्षेत्रमा व्यस्त रहेकाले विषयबारे पूर्ण जानकारी नपाएको बताए । यद्यपि, उनले सामाजिक सञ्जालमा फैलिएको भिडिओ हेरेको उल्लेख गर्दै उक्त अन्तर्वार्ता पुरानो भएको हुनसक्ने बताए ।
‘मैले भिडिओ हेरेँ, पुरानो अन्तर्वार्ता जस्तो लाग्यो । दलितमुक्ति आन्दोलनका क्रममा उहाँले आक्रोशमा बोलेको हुनसक्छ । अहिले पनि यही धारणा बोक्नुहुन्छ भन्ने मलाई विश्वास छैन,’ बुर्लाकोटीले भने । उनले यसबारे सुनारसँग कुरा गर्ने बताए ।
रास्वपाका प्रवक्ता मनिष झाले पनि भिडिओ पुरानो रहेको दाबी गरे । उनले सुनारसँग हालै कुराकानी भएको र उक्त विषयमा सुनारले भिडिओमार्फत प्रष्टीकरण दिइसकेको बताए ।
‘यो निकै पुरानो भिडिओ हो । अहिले यसलाई भाइरल बनाउनुको अर्थ छैन । उहाँले आफैं प्रष्टीकरण दिइसक्नुभएको छ, त्यसैले पार्टीले थप बोलिरहनु परेन,’ झाले भने । उनले सुनार अहिले उक्त विचारमा नरहेको आफूले बुझेको पनि उल्लेख गरे ।
यसैबीच, खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेका छन् । आफूले नबोलेको कुरालाई प्रविधिको प्रयोग गरेर छेउटुप्पा काटी भाइरल गरिएको उनको भनाइ छ ।
‘राष्ट्रिय जनावरप्रतिको हाम्रो पूर्ण सम्मान छ । हामी पनि यही देशका नागरिक हौँ,’ उनले भनेका छन् । आफू शाकाहारी भएको र कुनै पनि जीवहत्याको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।