प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्दै देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र विवेक बढ्ने धार्मिक विश्वास रहँदै आएको छ।
आज देशभर रहेका सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। विशेषगरी विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आज लेखपढ सुरु गराएमा राम्रो विद्या प्राप्त हुने विश्वास छ।
चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीलगायत विभिन्न नामले पुकार्ने गर्छन्।
विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले कलम, कापी, कुची, वाद्ययन्त्रजस्ता आफ्ना साधनालाई सरस्वतीस्वरूप मानी पूजा आराधना गर्ने परम्परा छ। तान्त्रिकहरूले भने तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्ने गर्छन्।
सूर्य उत्तरायण लाग्दै दिन लामो हुने र वसन्त ऋतुको प्रारम्भ हुने विश्वासका कारण आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्ध ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख गरिएको छ।
सामान्यतया आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने विश्वास छ। तर यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म भने नगरिने जनाइएको छ। यसै दिन बालबालिकालाई शिक्षा आरम्भ गराउनुका साथै नाक–कान छेड्ने चलन पनि रहेको छ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत देशका विभिन्न सरस्वती मन्दिरमा आज बिहानैदेखि विशेषगरी छात्रछात्राको घुइँचो लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वास छ।
यसै अवसरमा हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्राध्यक्षबाट ‘वसन्त श्रवण’ गर्ने परम्परा अनुसार आज बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएको छ। कार्यक्रमका सबै तयारी पूरा भइसकेको जनाइएको छ।