नेभिगेशन
समाचार

बालेन शाहले भने अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसरमा देश निर्माणसम्बन्धी आफ्नो इन्जिनियरिङ अनुभव र भावी दृष्टिकोण सार्वजनिक गर्दै अब नेपाललाई इमानदार नेतृत्व र दीर्घकालीन सोच आवश्यक रहेको बताएका छन्।


सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रमुख शाहले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा सिभिल इन्जिनियरका रूपमा काम गर्दाका अनुभव स्मरण गरेका छन्। उनका अनुसार भूकम्पपछि काभ्रेमा करिब २५ सय घर निर्माण गर्नुका साथै गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा पुगेर काम गर्दा नेपालको भौगोलिक अवस्था, सामाजिक विविधता र संरचनागत कमजोरीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भयो।


नेपालजस्तो भूकम्पीय जोखिममा रहेको देश निर्माण प्राविधिक पक्षबाट मात्र सम्भव नभई भौगोलिक बनोट र सामाजिक यथार्थलाई समेत आत्मसाथ गर्नुपर्ने उनको निष्कर्ष छ। यही बुझाइका कारण आफू स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनका लागि भारत गएको र विदेशमा काम गर्ने अवसर त्यागेर देश फर्किएको उनले उल्लेख गरेका छन्।
काठमाडौँ महानगर प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरा महानगरले प्रमाणित गरेको बताए। महानगरमा सुरु गरिएका पारदर्शी प्रणाली, प्रविधिमैत्री सेवा र संरचनागत सुधारका अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको भनाइ छ।


विकासको परिभाषा सडक र भवनमा मात्र सीमित नराख्न आग्रह गर्दै उनले सुरक्षित संरचना, विपद् सहन सक्ने क्षमता र जनतामा आशा जगाउने वातावरण निर्माण नै वास्तविक विकास भएको तर्क गरेका छन्। “देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ,” उनले भनेका छन्।
राजनीतिमा आउनुको मूल उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको स्पष्ट पार्दै प्रमुख शाहले भविष्यका पुस्तालाई सुरक्षित देश हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। संकट आउनुअघि नै तयारी गर्ने नीति, विपद् प्रतिरोधी संरचना र जनताको विश्वास जित्ने शासन व्यवस्था नै आफ्नो अभियानको मुख्य लक्ष्य रहेको उनले बताएका छन्।


यो अभियान कुनै एक व्यक्तिको मात्र नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको उल्लेख गर्दै उनले राष्ट्र निर्माणको यात्रामा सहभागी हुन सबै नागरिकलाई आह्वान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update