बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको शक्ति लिएर अपराधका फाइलहरु पुनः खोल्ने बताएका हुन्।
उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि सुरु गर्ने बताए। उनले विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे।
उनले अहिलेको सरकारसँग जनता खुशी नभए पनि विचौलिया र स्वार्थ समूहहरु खुशी रहेको बताए।
उनले भने, ‘अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुशी छन्। तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन। तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन्। म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन्। जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल। फेरि शुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन। फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिको गठजोड।’
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु।
संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति सुस्त भयो, विधेयकहरु अपेक्षित गतिमा अघि बढेनन् भन्ने गुनासो अब नसुनिने गरी हामी अघि बढौं, मेरो शुभकामना छ । प्रमुख प्रतिपक्षीका रुपमा हामी सम्मानित संसदलाई थप क्रियाशील र परिणामुखी बनाउन प्रतिबद्ध छौं । तर, सरकार नै संसदलाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो, तर बोलाइएन । सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्यायो । सार्वभौम संसदको यो तहको उपेक्षाप्रति हाम्रो आपत्ति छ । उनको भनाइ रहेकाे थियो।