राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे । नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, “अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।” उनले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले सहिदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताए ।