नेभिगेशन
समाचार

आठ वर्षपछि केरुङ्गे खोलामा पुल निर्माण सम्पन्न, स्थानीयको आवतजावत सहज

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा निर्माणाधीन पुल आठ वर्षपछि सम्पन्न भएको छ। विसं २०७५ मा निर्माण सुरु गरिएको पुल पटक–पटक म्याद थपिँदै आएपछि अहिले आएर पूर्णता पाएको हो।
एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले विसं २०७७ भित्रै निर्माण सम्पन्न गर्ने गरी काम थालेको भए पनि विभिन्न कारणले समयमै पुल निर्माण हुन सकेको थिएन।

पटक–पटक म्याद थपपछि अन्ततः पुल सम्पन्न भएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले जानकारी दिए।
१४० मिटर लम्बाइको उक्त पुल करिब १० करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको हो। पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको दैनिकीमा ठूलो राहत मिलेको वडाअध्यक्ष लोहनीले बताए।


उनका अनुसार पुल नहुँदा बर्खायाममा खोलामा बाढी आएपछि स्थानीयले घुमेर बजार क्षेत्र जानुपर्ने बाध्यता थियो भने अन्य समयमा जोखिमपूर्ण रूपमा खोलाबाटै आवतजावत गर्नुपर्थ्यो। “पुल नहुँदा धेरै सास्ती थियो, बाढी आएपछि अन्यत्रबाट घुमेर जानुपर्थ्यो। ढिलै भए पनि पुल बनेपछि अब त्यो बाध्यता हटेको छ,” अध्यक्ष लोहनीले भने।
पुल निर्माणसँगै हुप्सेकोट क्षेत्रका बासिन्दालाई कावासोती सदरमुकाम पुग्न समेत सहज भएको छ। हुप्सेकोटका स्थानीय रुक्माङ्गत भुर्तेलले पहिले डण्डा हुँदै लामो दूरी घुमेर जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब हसौराबाट नयाँ पुल हुँदै सिधै कावासोती पुग्न सकिने बताए।
स्थानीयका अनुसार लामो समयको प्रतीक्षापछि पुल निर्माण सम्पन्न हुँदा आवतजावत, व्यापार तथा सेवा–सुविधामा पहुँच सहज भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update