नेभिगेशन
समाचार

आज विशेष महाधिवेशनको घोषणा गगन विश्वको तयारी

केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न केन्द्रीय कार्यालयमार्फत विशेष महाधिवेशन आह्वान गर्न लागिएको हो। पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटक–पटक भएको छलफलबाट कुनै निकास ननिस्किएपछि महामन्त्रीद्वयले यो कदम चाल्न लागेको केन्द्रीय सदस्य अजयवाबु सिवाकोटीले जानकारी दिए।
महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले महाधिवेशन नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिँदै आएका थिए। आज बिहान ९ बजे बस्ने कार्यसम्पादन समितिको बैठकपछि विशेष महाधिवेशनको औपचारिक घोषणा हुन सक्ने सिवाकोटीको भनाइ छ।
महामन्त्री पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई संयुक्त रूपमा काठमाडौं उपस्थित हुन आह्वान गर्ने तयारी गरेको छ।
यद्यपि कार्यसम्पादन समितिले भने आगामी बैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गर्दै विशेष महाधिवेशन आवश्यक नरहेको भन्दै वडा कमिटीसम्म सर्कुलर जारी गरिसकेको छ।
संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटिरहेको बेला महामन्त्रीद्वयको कदमले पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गर्ने संकेत देखिएको छ।
महामन्त्री पक्षले विशेष महाधिवेशनको तयारी तीव्र पारेको छ। हिजो मात्रै महाधिवेशन व्यवस्थापनका लागि आवश्यक १८ वटा विभिन्न समिति गठन गरिएको छ।

महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपस्थित हल एक साता अघि नै बुक गरिसकिएको छ।
तर विशेष महाधिवेशनको पक्षमा खुलेका केही नेताहरूले हस्ताक्षर फिर्ता लिँदा महामन्त्री पक्ष केही दबाबमा परेको छ। बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित गराएर नेतृत्व परिवर्तन गर्ने रणनीतिमा रहेको थापा पक्ष बहुमत नपुगेको अवस्थामा उक्त भेलालाई भेलाका रूपमा सीमित गर्ने तयारीमा रहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update