नेभिगेशन
समाचार

कालीकोटका युवा विदेशिँदा बिरामी बोक्ने जिम्मा महिला र बालबालिकाकै काँधमा

नगरपालिका भनिएपछि सहरी सुविधा, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र सुलभ सडक पहुँचको अपेक्षा गरिन्छ । तर कर्णालीका पहाडी नगरपालिकाको वास्तविकता यी परिकल्पनाभन्दा निकै फरक छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएको झन्डै एक दशक पुग्न लाग्दासमेत कालीकोटको रास्कोट नगरपालिकामा आधारभूत सेवा-सुविधा अझै पहुँचबाहिर छन् । यसको ज्वलन्त उदाहरण हो रास्कोट नगरपालिका–५ रानागाउँ, जहाँ बिरामी बोकेर अस्पताल पुर्‍याउने जिम्मा महिला र बालबालिकाकै काँधमा परेको छ ।


रानागाउँकी गौरा बम बिरामी बोकेर अस्पताल लैजाँदै गर्दा भन्छिन्, “गाउँका तन्नेरी सबै खाडी गएका छन् । एम्बुलेन्स छैन । बिरामी पर्दा यसैगरी बोकेर अस्पताल पुर्‍याउनु पर्छ ।” उनका यी शब्दहरूले गाउँको पीडादायी यथार्थ बोल्छन् ।


एक सयभन्दा बढी घरधुरी रहेको रानागाउँमा विदेश वा कालापहाड नगएको युवा भेटिँदैन । बाँकी रहेका युवासमेत शिक्षा र रोजगारीको खोजीमा काठमाडौँसहित अन्य सहरतिर पलायन भएका छन् । गाउँमा विपद् वा बिरामी पर्दा महिलाहरू अघि नसरी विकल्प छैन ।
सुत्केरीदेखि गम्भीर बिरामीसम्मलाई खेतका गह्रा, उकालो–ओरालो र धुलाम्मे बाटो हुँदै स्ट्रेचरमा बोकेर अस्पताल लैजानु महिलाहरूको बाध्यता बनेको छ । किशोरहरू सहयोगी बने पनि युवाविहीन गाउँमा सामाजिक, सांस्कृतिक तथा पारम्परिक जिम्मेवारी धान्न बुढापाका, महिला र बालबालिकालाई दिनानुदिन कठिन हुँदै गएको छ ।
विडम्बना के छ भने नगरपालिकाका जनप्रतिनिधिका लागि चढ्ने गाडी र २४ घण्टा चालकको सुविधा उपलब्ध छ । तर नगरपालिकाका अधिकांश गाउँहरूमा सडक कच्ची छन् । बजार क्षेत्रमा सीमित पिच बाटो भए पनि गाउँतिर एम्बुलेन्स पुग्ने अवस्था छैन ।
बिरामीलाई स्ट्रेचरमा बोकेर धुले बाटो हुँदै अस्पताल लैजाँदै गरेको दृश्य यहाँ सामान्य भइसकेको छ । नगरबासीलाई ‘नगरपालिका’ भित्र बसिरहेको अनुभूति समेत हुन छाडेको छ । त्यसैले न्यूनतम रूपमा एउटा एम्बुलेन्ससमेत व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीय नेतृत्वप्रति नागरिकहरू आक्रोशित छन् ।


गाउँमा उत्पादन हुने अन्नले वर्षभरि खान पुग्दैन । रोजगारीको अभावले युवा बाहिरिँदा घरमा छोराछोरीको बाटो हेरेर बसेका बाआमाहरू पीडा आफ्ना लोकगीत र भाकामार्फत पोखिरहेका छन् ।
२०७८ सालको जनगणनाअनुसार रास्कोट नगरपालिकामा ५८ बस्तीमा ३ हजार १९४ घरधुरी छन् । साविक स्युना, फुकोट र सिपखाना गाविस मिलेर बनेको यस नगरपालिकाको जनसङ्ख्या १७ हजार ४२५ पुगेको छ । कानुनी मापदण्डअनुसार नगर बने पनि पूर्वाधार, शिक्षा, रोजगारी र चेतनाजस्ता आधारभूत सहरी चरित्रहरू पालिकाको केन्द्रमै पनि भेट्न कठिन छ ।
युवाविहीन गाउँको भार महिलामाथि मात्र होइन, सिंगो समाजको भविष्यमा गम्भीर प्रश्न बनेर उभिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update