नेभिगेशन
समाचार

निर्वाचनपछि पनि एमाले–कांग्रेसबाहेक अरूले सरकार बनाउन सक्दैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पनि नेकपा एमाले र नेपाली कांग्रेसबाहेक अन्य कुनै दलले सरकार बनाउन नसक्ने दाबी गरेका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदलाई लिएर भएका सहमति र भागबण्डालाई आलोचना गर्दै एमाले–कांग्रेसजस्ता ठूला दलबाहेक अरूले सरकार सञ्चालन गर्न सक्ने हैसियत नराख्ने बताएका हुन् ।


‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु आफैंमा हास्यास्पद कुरा हो,’ ओलीले भने, ‘प्रधानमन्त्रीको हल्ला चलेको व्यक्ति अलि बाठो होला भन्ने ठानेको थिएँ, तर निर्णय देख्दा हाँस्यास्पद लाग्यो । पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कैलाई जिम्मा लगाएर आफू प्रधानमन्त्री भनिएको छ ।’
उनले यस्तो अवस्था ‘जहाँ भेट्यो त्यहीं प्रधानमन्त्री बाँड्ने’ प्रवृत्तिजस्तै भएको टिप्पणी गर्दै गम्भीर शासन व्यवस्था यसरी नचल्ने बताए । ‘यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन,’ ओलीले कटाक्ष गरे ।
अध्यक्ष ओलीले साना दलहरूको गठबन्धनप्रति पनि टिप्पणी गर्दै ‘घैँटाको पानीले सागर नबन्ने’ र ‘भेडा–बाख्राको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने’ उखान प्रयोग गरे । एमाले र कांग्रेस पुराना, ठूला र लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै उनले यिनै दलहरू सरकार निर्माणका वास्तविक आधार भएको जिकिर गरे ।
उनले वर्तमान राजनीतिक अवस्थालाई संविधानविपरीत भएको बताउँदै निर्वाचन हुन सक्ने वातावरण नबनेको अवस्थामा असंवैधानिक रूपमा विघटन गरिएको संसद पुनःस्थापना हुनुपर्ने धारणा राखे । सरकार बनाउने र हटाउने अधिकार संसदसँग मात्रै भएको उल्लेख गर्दै ओलीले संसद विघटनले संविधान नै संकटमा परेको बताए ।
‘सरकार बनाउने र हटाउने थलो संसद हो । असंवैधानिक व्यक्तिले संसद विघटन गरेर संविधानलाई संकटमा पारेको छ,’ ओलीले भने । साथै, संसद पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले छिटो न्याय दिनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष ओलीको यो अभिव्यक्तिले निर्वाचनअघिको राजनीतिक बहसलाई थप चर्काउने संकेत देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update