नेभिगेशन
समाचार

बर्दियामा वन्यजन्तु संरक्षणका लागि संयुक्त रात्री गस्ती

बर्दिया जिल्लामा वन्यजन्तुको चोरी शिकार नियन्त्रण तथा संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना र स्थानीय युवाहरूले संयुक्त रूपमा रात्री गस्ती सञ्चालन गरेका छन्। मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन वरपर वन्यजन्तुको अवैध सिकार हुन नदिन निकुञ्ज, नेपाली सेना र स्थानीय युवाहरू सक्रिय रूपमा परिचालित भएका हुन्।


बर्दिया राष्ट्रिय निकुञ्ज तथा निकुञ्जसँग जोडिएका सामुदायिक वन क्षेत्रमा पाटेबाघ, हात्ती, गैंडा, चित्तल, रतुवा, बाह्रसिङ्गे लगायतका वन्यजन्तुका साथै चराचुरुङ्गी तथा नदीमा पाइने गोही, घडियाल, सर्पजस्ता जीवजन्तुहरूको संरक्षणमा निकुञ्ज, सुरक्षामा तैनाथ जबरजंग गणका नेपाली सेना र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको छ।


मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा कुनै अवैध गतिविधि वा शंकास्पद व्यवहार देखिएमा स्थानीय समुदायले तत्काल निकुञ्ज प्रशासन र नेपाली सेनालाई जानकारी गराउने गरेको बताइएको छ। वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषले समुदायसँग सहकार्य गर्दै आएका छन्।


सोमबार राति बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, जबरजंग गणका नेपाली सेना तथा स्थानीय युवाहरूको संयुक्त टोलीले चोरी शिकार हुन सक्ने सम्भावित स्थानहरूमा पैदल गस्ती गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष गोविन्द्र चौधरीले जानकारी दिए।


उनका अनुसार, ‘निकुञ्जमा पाइने पाटेबाघ, गैंडा, हात्तीको बथान र अन्य वन्यजन्तु अवलोकन गर्न देश–विदेशबाट पर्यटकहरू आउने गर्दछन्। वन्यजन्तु सुरक्षित भए मात्र पर्यटन प्रवर्द्धन सम्भव हुन्छ। त्यसैले वन्यजन्तुको संरक्षण गर्दै पर्यापर्यटन विकास गर्न वन्यजन्तुको बासस्थान र आवतजावत हुने क्षेत्रमा संयुक्त गस्ती गर्दै आएका छौँ।’


संयुक्त गस्तीले वन्यजन्तु संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय समुदायमा सचेतना बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update