नेभिगेशन
समाचार

सुशीला कार्की सरकारमाथि संकट गहिरिँदै, जेन-जी आन्दोलनसँगै अन्तरविरोध चुलियो

काठमाडौं, मंसिर ८  
गत भदौ २३-२४ मा भएको जेन-जी ‘विद्रोह’ पछि राजनीतिक संकट समाधान गर्न र फागुनमा आम निर्वाचन गराउन म्यान्डेट पाएको सुशीला कार्की नेतृत्वको सरकार पछिल्ला दिनमा गम्भीर विवाद र दबाबमा परेको छ । विद्रोहकै जगमा बनेको यो सरकार र जेन-जी आन्दोलनका अगुवाहरूबीच नै पछिल्लो समय गहिरो अन्तरविरोध देखा परेको छ ।

देशको ठूलो दल नेकपा (एमाले) ले “फागुनमा चुनाव सम्भव छैन” भन्दै भदौ २७ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने अडान कायम राखेको छ । एमालेका नेताहरूले सार्वजनिक कार्यक्रमहरूमा समेत यो माग दोहोर्याउँदै आएका छन् । 

यसै क्रममा बाराको सिमरामा एमाले कार्यकर्ता र जेन-जी समर्थकहरूबीच भएको झडपले राजनीतिक वातावरण थप तनावग्रस्त बनेको छ । उक्त घटनाले दलहरूबीच आपसी अविश्वास झनै बढाएको विश्लेषकहरू बताउँछन् । 

सरकारमाथि संक्रमणकालीन न्याय र राजनीतिक संकटको प्रभावकारी नेतृत्व गर्न नसकेको चौतर्फी आरोप लाग्न थालेको छ । नेताहरूको घुमफिर, भेटघाट र आफ्ना कुरा राख्ने नैसर्गिक अधिकारमाथि समेत अंकुश लगाउने प्रयासका दृश्यहरू सार्वजनिक हुँदा निर्वाचनको वातावरणमा थप संशय पैदा भएको छ । 

जेन-जी विद्रोहको ऊर्जा र म्यान्डेट बोकेर आएको सरकार आफैं संकटमा फस्दा फागुनको निर्वाचन तोकिएकै मितिमा हुनेमा सर्वत्र आशंका बढ्दै गएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार अबको केही साता भित्रै ठोस राजनीतिक सहमति नभए देश लामो अनिश्चयको दलदलमा फस्ने जोखिम उच्च रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update