काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सिफ्टमा कीर्तिपुरमा क्रिकेट मैदानको काम अघि बढाएर समयमै सक्न निर्देशन दिएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले खेलाडी रोहित पौडेल, इन्दु बर्मा, पूजा महतो सहित क्यानका सचिव पारस खड्कासँगको आफ्नो भेट भएको र सो क्रममा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशाला सहित समग्र नेपाली क्रिकेटको कुरा भएको जानकारी दिएका छन् ।
त्यसको भोलिपल्टै बुधबार शहरी विकास मन्त्री सहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रंगशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको ओलीको भनाइ छ ।
ओलीले फेसबुकमा भनेका छन्, ‘पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको जानकारी पाएँ। कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको छु।’