नेभिगेशन
समाचार

१५ करोडको आइरन र फोलिक एसिड खरिद टेन्डर अन्तिम समयमा आएर रद्द

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले ७५३ स्थानीय तहका लागि खरिद गर्न लागिएको १५ करोड रुपैयाँ बराबरको आइरन चक्की र फोलिक एसिड खरिद प्रक्रिया अन्तिम समयमा आएर रद्द गरेको छ।

विभागले गत साउन ३० गते ९३ पैसा प्रतिट्याब्लेट लागत अनुमानसहित आइरन र फोलिक एसिड खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर, प्रदेश सरकारले यसअघि सोही औषधि अझ कम मूल्यमा खरिद गर्ने गरी टेन्डर गरेको कारण विवाद उत्पन्न भएको थियो।

विभागका एक वरिष्ठ स्वास्थ्यकर्मीका अनुसार, “संघीयता लागू भएपछि प्रदेशले नै आइरन चक्की खरिद गरेर स्थानीय तहमा वितरण गर्ने प्रथा थियो। यसपटक मन्त्रालयले संघकै तर्फबाट खरिद गर्न खोजेपछि मूल्य विवाद उत्पन्न भयो, जसका कारण टेन्डर रद्द गर्नुपर्‍यो।”

हालै राजीनामा दिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले आफूले राजीनामा दिने अन्तिम दिन सो खरिद प्रक्रिया अघि नबढाउने निर्णय गर्दै टेन्डर रद्द गरेको बताइएको छ।

यसअघि पनि संघ सरकारले दुई वर्ष अघि दुई वर्ष पुग्ने अवधिका लागि आइरन चक्की खरिद गरी स्थानीय तहमा वितरण गरेको थियो। तर, यो वर्ष बैशाखयता विभिन्न प्रदेश र स्थानीय तहले आइरन र फोलिक एसिड चक्की सकिएको भन्दै माग गर्दै आएका थिए। त्यसपछि स्वास्थ्य सेवा विभागले बेलैमा खरिद प्रक्रिया अघि बढाएको थियो।

सरकारले गर्भवती, सुत्केरी महिला र किशोरीलाई आइरन चक्की निःशुल्क वितरण गर्दै आएको छ। विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत किशोरीहरूलाई पनि आइरन चक्की उपलब्ध गराइन्छ।

चिकित्सकका अनुसार शरीरमा हेमोग्लोबिन उत्पादनका लागि आइरन अत्यावश्यक हुन्छ। गर्भावस्था र सुत्केरी अवस्थामा हेमोग्लोबिनको मात्रा घट्न नदिई मातृ स्वास्थ्य जोगाउन आइरन चक्की सेवन गरिन्छ। सामान्यतया महिलाको १३ ग्राम प्रति डेसिलिटर हेमोग्लोबिन आवश्यक पर्छ र सुत्केरीपछि कम्तीमा ४५ दिनसम्म आइरन चक्की अनिवार्य खाने सिफारिस गरिएको छ।

यस वर्ष बैशाखयता आइरन चक्की र फोलिक एसिडसहित परिवार नियोजनका अस्थायी साधनहरूको पनि अभाव देखिएको स्वास्थ्य स्रोतहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update