नेभिगेशन
समाचार

मतदाता नामावली दर्ताको समय नथप्ने निर्वाचन आयोग, राष्ट्रिय परिचयपत्रबाट सूचीकृत हुने मतदाता

निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय थप नगर्ने निर्णय गरेको छ। आयोगका पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेपछि समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने जानकारी गराएका थिए।

नामावली दर्ताको समय नथपिएपछि अब राष्ट्रिय परिचयपत्रका लागि संकलन गरिएको बायोमेट्रिक विवरणबाट मतदाता सूचीकृत गरिने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीसँग बुधबार भएको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्रका लागि संकलित जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयारी भएको बताएका थिए।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार आजदेखि राष्ट्रिय परिचयपत्र बनाएका तर मतदाता नामावलीमा नाम नभएका नागरिकको विवरण पनि सूचीकृत हुनेछ। ‘यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ,’ उनले भने।

छलफलका क्रममा आयोगले निर्वाचन तयारीका करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको र आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने जानकारी प्रधानमन्त्रीलाई दिएको थियो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले चुनावमा भाग लिन नसकिने भन्ने भावना प्रकट गरेका छैनन्, जसले निर्वाचनको वातावरण सकारात्मक बनेको संकेत गरेको छ।

भण्डारीले विगतमा निर्वाचन बहिष्कार गर्ने वा विरोध गर्ने समूहहरू समेत अहिले आयोगमा दर्ता भई सहभागिताका लागि तयार भएको बताए। आयोगका अनुसार नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम उत्साहजनक छ।

हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराएका छन्। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सबै दललाई सुझावका लागि पठाइसकेको र छिट्टै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update