नेभिगेशन
समाचार

बागमतीका पाँच जिल्लाबाट फरार १८१८ कैदीमध्ये ४३९ अझै बेपत्ता,

गत २३ र २४ असोजमा जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका उपत्यकाबाहेकका पाँच जिल्लाका कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अझै ४३९ जना फरार छन् । बागमती प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार मकवानपुर, धादिङ, चितवन, रसुवा र सिन्धुलीका विभिन्न कारागारबाट जम्मा १,८१८ जना कैदीबन्दी भागेका थिए ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार हालसम्म १,३७९ जनालाई नियन्त्रणमा लिएर पुनः कारागार पठाइएको छ । नियन्त्रणमा आएकामध्ये केही आफैं फर्किएका हुन् भने धेरैलाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

तथ्यांकअनुसार मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट ४४० जना कैदी फरार भएका थिए । तीमध्ये २६८ जनालाई पक्राउ गरी पुनः कारागार पठाइएको छ भने १७२ जना अझै फरार छन् । यस्तै, हेटौँडा–११ थानाभर्‍याङस्थित बाल सुधारगृहबाट फरार भएका ७२ मध्ये ६२ जनालाई नियन्त्रणमा लिइए पनि १० जना अझै बेपत्ता छन् । प्रहरीले ती बालकहरूको खोजीका लागि परिवार र सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

चितवन कारागारबाट आन्दोलनकै क्रममा ७३८ जना फरार भएका थिए । तीमध्ये ६०३ जना नियन्त्रणमा आइसकेका छन् भने १३५ जना अझै फरार छन् । फरारमध्ये केहीले भारत सीमावर्ती क्षेत्र हुँदै बाहिरिने प्रयास गरेकाले प्रहरीले विशेष खोजी टोली परिचालन गरेको बस्नेतले जानकारी दिए ।

त्यस्तै, रसुवा कारागारबाट भागेका ९७ मध्ये ९४ जनालाई नियन्त्रणमा लिइएको छ भने बाँकी तीन जनाको खोजी भइरहेको छ । सिन्धुली कारागारबाट फरार ४७१ मध्ये ३५२ जनालाई पुनः कारागारमा पठाइएको छ । अझै ११९ जना फरार रहेको प्रवक्ता बस्नेतले बताए ।

प्रहरीका अनुसार फरार रहेका अधिकांश कैदीबन्दी जघन्य अपराधमा संलग्न छन् । उनीहरू मध्ये बलात्कार, लागुऔषध कारोबार, वन्यजन्तु चोरी–सिकारी, अपहरण र कर्तव्य ज्यानजस्ता गम्भीर अभियोगमा रहेका व्यक्तिहरू फरार भएपछि विभिन्न जिल्लामा त्रास फैलिएको बताइएको छ ।

‘फरार कैदीबन्दीले सामाजिक सुरक्षामा असर पुर्‍याउने जोखिम बढेको हुँदा प्रहरी उच्च सतर्कतामा छ,’ प्रवक्ता बस्नेतले भने । उनका अनुसार फरार कैदीबन्दीहरूको विवरण जिल्ला–जिल्लाका प्रहरी इकाइमा पठाइसकिएको र भारतीय सीमाक्षेत्रमा निगरानी कडा पारिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update