गत २३ र २४ असोजमा जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका उपत्यकाबाहेकका पाँच जिल्लाका कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अझै ४३९ जना फरार छन् । बागमती प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार मकवानपुर, धादिङ, चितवन, रसुवा र सिन्धुलीका विभिन्न कारागारबाट जम्मा १,८१८ जना कैदीबन्दी भागेका थिए ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार हालसम्म १,३७९ जनालाई नियन्त्रणमा लिएर पुनः कारागार पठाइएको छ । नियन्त्रणमा आएकामध्ये केही आफैं फर्किएका हुन् भने धेरैलाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
तथ्यांकअनुसार मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट ४४० जना कैदी फरार भएका थिए । तीमध्ये २६८ जनालाई पक्राउ गरी पुनः कारागार पठाइएको छ भने १७२ जना अझै फरार छन् । यस्तै, हेटौँडा–११ थानाभर्याङस्थित बाल सुधारगृहबाट फरार भएका ७२ मध्ये ६२ जनालाई नियन्त्रणमा लिइए पनि १० जना अझै बेपत्ता छन् । प्रहरीले ती बालकहरूको खोजीका लागि परिवार र सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
चितवन कारागारबाट आन्दोलनकै क्रममा ७३८ जना फरार भएका थिए । तीमध्ये ६०३ जना नियन्त्रणमा आइसकेका छन् भने १३५ जना अझै फरार छन् । फरारमध्ये केहीले भारत सीमावर्ती क्षेत्र हुँदै बाहिरिने प्रयास गरेकाले प्रहरीले विशेष खोजी टोली परिचालन गरेको बस्नेतले जानकारी दिए ।
त्यस्तै, रसुवा कारागारबाट भागेका ९७ मध्ये ९४ जनालाई नियन्त्रणमा लिइएको छ भने बाँकी तीन जनाको खोजी भइरहेको छ । सिन्धुली कारागारबाट फरार ४७१ मध्ये ३५२ जनालाई पुनः कारागारमा पठाइएको छ । अझै ११९ जना फरार रहेको प्रवक्ता बस्नेतले बताए ।
प्रहरीका अनुसार फरार रहेका अधिकांश कैदीबन्दी जघन्य अपराधमा संलग्न छन् । उनीहरू मध्ये बलात्कार, लागुऔषध कारोबार, वन्यजन्तु चोरी–सिकारी, अपहरण र कर्तव्य ज्यानजस्ता गम्भीर अभियोगमा रहेका व्यक्तिहरू फरार भएपछि विभिन्न जिल्लामा त्रास फैलिएको बताइएको छ ।
‘फरार कैदीबन्दीले सामाजिक सुरक्षामा असर पुर्याउने जोखिम बढेको हुँदा प्रहरी उच्च सतर्कतामा छ,’ प्रवक्ता बस्नेतले भने । उनका अनुसार फरार कैदीबन्दीहरूको विवरण जिल्ला–जिल्लाका प्रहरी इकाइमा पठाइसकिएको र भारतीय सीमाक्षेत्रमा निगरानी कडा पारिएको छ ।