बुधबारदेखिको लगातार वर्षा र हुरीका कारण जाजरकोटमा पाक्दै गरेको धानबालीमा व्यापक क्षति पुगेको छ। बिहीबारको वर्षा र हुरीले कुसे गाउँपालिका अन्तर्गतका साविक अर्छानी, टालेगाउँ, ढिमे र पैक क्षेत्रका खेतबारीमा धान ढल्न पुगेको स्थानीय किसानहरू बताउँछन्।
किसानहरूको भनाइअनुसार वर्षा र हुरीसँगै आएको हावाले भुइँमा लडेका धानका बोटबाट दाना झर्ने, पराल कालो हुने र त्यसपछि गाईवस्तुले समेत नखाने अवस्था बनेको छ। स्थानीय किसान धर्मराज बिसीका अनुसार, “धानको बोट लडेपछि सबै भुइँमा झर्छ, पराल बिग्रन्छ, गाईवस्तुले पनि खाँदैन। अब जताबाट पनि घाटा भयो।”
जाजरकोट उच्च भेगमा पर्ने भएकाले यहाँ धान ढिलो पाक्ने गर्छ। अन्य जिल्लामा धान भित्र्याउने काम सुरु भइसकेको बेला जाजरकोटमा भने धान अझै पाक्ने क्रममा थियो। यही ढिलाइका कारण निरन्तर वर्षाको असर सिधै पाको धानमा परेको स्थानीयहरू बताउँछन्।
कुसे गाउँपालिका लगायतका क्षेत्रमा किसानले यस वर्ष उत्पादन राम्रो हुने आशा राखेका थिए, तर असमयको वर्षाले सो आशा चकनाचुर बनाएको छ। खेतका अधिकांश बोटहरू ढलेपछि उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ।
असमयको वर्षाले जाजरकोटका किसानलाई यस वर्ष पनि आर्थिक रूपमा गम्भीर असर पारेको छ, र धान भित्र्याउने सिजनमै परेको विपत्तिले उनीहरूलाई आगामी वर्षको खेती खर्च जुटाउन समेत चुनौती बनेको छ।