नेभिगेशन
समाचार

कर्णालीमा ‘दलितका लागि दलित अभियान’को प्रदेश कार्यालय स्थापना

दलित समुदायको हक, अधिकार र सशक्तीकरणका लागि सक्रिय संगठन ‘दलितका लागि दलित अभियान’ले कर्णाली प्रदेशमा आफ्नो प्रदेश कार्यालय स्थापना गरेको छ। सुर्खेतको बिरेन्द्रनगरस्थित नयाँ कार्यालयको उद्घाटन अभियानका कर्णाली प्रदेश संयोजक मोहन सुनारले गर्नुभयो।

उद्घाटन कार्यक्रममा सल्यान जिल्ला संयोजक खेमराज सुनार, सुर्खेतका सञ्चारकर्मी तथा दलित अभियानका अभियन्ता महेन्द्र बि.के. लगायत विभिन्न जिल्लाबाट आएका दलित अधिकारकर्मीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा वक्ताहरूले प्रदेश कार्यालय स्थापनाले कर्णालीका दलित समुदायका मुद्दा, आवाज र अधिकारका पक्षमा थप सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे। संयोजक मोहन सुनारले भने, “यो कार्यालय केवल संरचना होइन, यो हाम्रो आवाज उठाउने केन्द्र हुनेछ — जहाँबाट समान अधिकार, न्याय र गरिमाका लागि आन्दोलन अझ प्रभावकारी रूपमा अघि बढ्नेछ।”

दलितका लागि दलित अभियानले देशभरका दलित समुदायबीच सचेतना, ऐक्यबद्धता र नीति सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कर्णाली प्रदेश कार्यालय स्थापनासँगै संगठनले स्थानीय तहदेखि प्रदेश स्तरसम्मका अधिकारका मुद्दा प्रभावकारी रूपमा उठाउने लक्ष्य लिएको जनाएको छ।


---

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update