नेभिगेशन
समाचार

‘भागेको’ भनिएका पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाटै सार्वजनिक, भने– “सरकारले गलत प्रचार गर्‍यो”

जेन–जी आन्दोलनका क्रममा घरमा आगजनी भएपछि ‘भागेको’ भनिएका तत्कालीन ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सोमबार सार्वजनिक भएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भागिसके’ भनेको भोलिपल्टै खड्का बूढानीलकण्ठस्थित आफ्नै जलेको घरको प्राङ्गणमा उपस्थित भई पत्रकारहरूसँग कुरा गरेका हुन्। भदौ २४ गते प्रदर्शनकारीहरूले उनको घरमा आगजनी गरेका थिए।

भिडिओसहित सार्वजनिक भएको उक्त भेटघाटमा खड्काले आफूविरुद्ध सरकारले गलत प्रचार गरेको दाबी गरे।
“सरकारले मलाई चिठी काटेको छ? वारेन्ट जारी गरेको छ? कहिँ नजानू भनेको छ? मेरो के रोक गरेको छ र म भागेँ भन्ने? सरकारले त्यसो भन्न मिल्छ? गृहमन्त्री त कानुनकै विद्यार्थी पनि हुन्,” उनले भने।


‘आगजनी हुँदा घरमै थिएँ’

खड्काका अनुसार भदौ २४ गते प्रदर्शनकारीहरू घरमा छिर्दा उनी परिवारसहित खाना खाँदै थिए।
“ढोका ढ्याङढ्याङ हान्न थालेपछि खाना खान पनि पाइएन। बच्चालाई पनि खुवाउन पाइएन। त्यसपछि सुरक्षाकर्मी र अंगरक्षकको आग्रहमा घर छाडियो,” उनले भने।

आगजनीपछि खड्का छिमेकीको घरमा बसेका थिए र त्यसपछि सेनाले उनलाई सुरक्षित स्थानमा लगेको बताए।
“सेनाले सुरक्षित ठाउँमा लग्यो। करिब ८/९ दिन आर्मी ब्यारेकमा बसेँ, त्यसपछि फेरि बूढानीलकण्ठमै ४/५ दिन बिताएँ,” उनले स्मरण गरे।

‘डेंगी भएर भारत पुगेँ’

त्यसपछि खड्का परिवारसहित तराईतर्फ गएको र त्यहीँ डेंगी लागेको बताए।
“डेंगी भएपछि उपचारका लागि भारतको मेदान्त अस्पताल गएँ। ११ दिन अस्पतालमै बसें। रेकर्ड नै छ,” उनले भने।

उनका अनुसार श्रीमती र छोरा अहिले पनि भारतमै उपचारमा छन्।
“डेंगी त निको भयो तर श्रीमतीलाई ट्रमा जस्तो भएको छ, अहिले पनि उतै उपचारमा छन्,” उनले थपे।

‘उडाएको पैसा दसैंका लागि राखेको थियो’

भदौ २४ गते खड्काको घरबाट पैसा उडाइएको भिडियो पनि भाइरल भएको थियो।
सो विषयमा प्रश्न गर्दा उनले प्रदर्शनकारीहरूले नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाए।

“दसैंका लागि ल्याएर राखेको २० र ५० रूपैयाँका नयाँ नोटका बन्डल थिए। ती नोट उडाएर फोटो खिचिएको थियो। त्यो सब प्लान गरेर गरिएको थियो,” उनले स्पष्ट गरे।

उनले आफ्नो आर्थिक पृष्ठभूमि व्यवसायिक भएको भन्दै केही रकम घरमा हुनु अस्वाभाविक नहुने बताए।
“दीपक खड्कासँग दुई–चार लाख नहुन सक्छ भनेर विश्वास गर्नुहुन्छ? मेरो पृष्ठभूमि हेर्नुहोस्, म राजनीति गर्नु अघि नै व्यवसायिक संरचना तयार गरिसकेको मान्छे हुँ,” उनले भने।

‘सरकारले एक जनाको पछि लाग्दा सिंगो समाज भ्रमित बनायो’

खड्काले सरकारले आफूविरुद्ध गलत कथा फैलाएर जनतालाई भ्रमित बनाएको आरोप पनि लगाए।
“मलाई पनि डेंगी भयो, श्रीमती बच्चा उपचारमा छन्। तर सरकार एक जनाको पछि लाग्दा सिंगो समाज दिग्भ्रमित बनायो। दुःख लागेर फर्किएको हुँ,” उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update