नेभिगेशन
समाचार

जेन–जी आन्दोलनबीच बर्दियाका जयराम वि.सी.को ‘प्रधानमन्त्री’ प्रस्ताव : ६ महिनामा निर्वाचन गर्ने प्रतिवद्धता

देश हाल राजनीतिक संक्रमणको गहिरो मोडमा छ । जेन–जी आन्दोलनको बढ्दो प्रभाव, नेतृत्वविहीन सडक प्रदर्शन र पुराना दलहरूलाई दिइएको चुनौतीबीच अस्थायी सरकारको बहस चलिरहेको बेला नयाँ प्रस्ताव सार्वजनिक भएको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका–३ निवासी जयराम वि.सी.ले आफू प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको घोषणा गरेका छन् । वि.सी.ले आफ्नो घोषणामा भनेका छन्,
“देशमा कसैको हिम्मत नभए जेन–जी आन्दोलनका प्रतिनिधि वा सहिद परिवारका सदस्यबाट नेतृत्व चयन गरिनुपर्छ । नभए म तयार छु । भ्रष्टाचारको अन्त्य गर्दै आगलागीबाट नष्ट भएका अति आवश्यक भौतिक संरचनाको तत्काल पुनर्निर्माण गर्नेछु र सुरक्षा निकायको सहयोगमा ६ महिनाभित्र निष्पक्ष निर्वाचन सम्पन्न गराई सत्ता जनताकै हातमा सुम्पिनेछु ।”

वि.सी.को यो अभिव्यक्ति जेन–जी आन्दोलनको पृष्ठभूमिमा आएको हो । देशभर जारी प्रदर्शनमा युवाहरूले पारदर्शिता, न्याय र भ्रष्टाचारविरुद्धको माग गर्दै सरकारलाई दवाव दिइरहेका छन् । आन्दोलनकै क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भिडन्त, आगलागी र क्षतिको समाचार सार्वजनिक भइरहेका छन् ।

विशेषज्ञहरूका अनुसार यस्ता घोषणाले अस्थायी सरकारको बहसलाई थप उकासेको छ । वि.सी.को प्रस्तावलाई जेन–जी आन्दोलनले समर्थन गर्ने वा नगर्ने स्पष्ट नभए पनि, उनले प्रस्तुत गरेको ६ महिनाभित्र निर्वाचन गर्ने योजना र ‘सत्ता जनतामा फर्काउने’ प्रतिवद्धताले जनचासो आकर्षित गरेको छ ।

राष्ट्रको राजनीतिक भविष्यबारे स्पष्टता नआएको यस अवस्थामा बर्दियाबाट आएको यो वक्तव्यले नयाँ बहसको ढोका खोलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update