२०७२ सालमा एसईई परीक्षा दिएका जाजरकोटका कमल सिंहले देशकै सेवा गर्ने लक्ष्य बोकेर आफ्नो शैक्षिक तथा पेशागत यात्रा सुरु गरेका थिए। उनी २०७३/७४ मा भेटेरिनरी जेटीए पास गर्दै स्थायी जागिरको सपना बोकेर अघि बढे। न नेता चिने, न भद्रभलाद्मी; आफ्नो मात्र मेहनत र साहसका भरमा अघि बढ्ने उनको यात्रा सामान्य भएन।
२०७६ मा नेपाल आर्मीको प्राविधिकतर्फको मौखिक परीक्षामा असफल भएपछि उनको सपना केही समयका लागि भत्किएको जस्तो लाग्यो। तर उनले हार मान्नुभएन। सोही वर्ष फागुन ६ गते कुशे गाउँपालिकाको पशु सेवा शाखामा नयाँ पशु सेवा प्राविधिकको रूपमा जागिर सुरु गरे। तर स्थानीय राजनीतिक प्रभाव र परिस्थितिले उनलाई स्थिरता दिन सकेन।
२०७९ जेठ ९ गते गाउँपालिकाको जागिर छाडेर काठमाडौंतर्फको यात्रा सुरु गरे। त्यही वर्ष असार १५ गते उनले एनआईसी एशिया लघुवित्त, जाजरकोट शाखामा कनिष्ठ सहायकको रूपमा काम सुरु गरे तर केही महिनामै, भदौ १९ गते, त्यहाँबाट पनि राजीनामा दिए।
फेरि २०७९ असोज ६ गतेदेखि उनी पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटमा नयाँ पशु स्वास्थ्य प्राविधिकको रूपमा आवद्ध भए। तर स्थायित्व अझै टाढै रह्यो। अन्ततः २०८२ साल असारपछि उनले सरकारी जागिरलाई पूर्णविराम लगाउँदै नयाँ बाटो रोजे—स्वतन्त्र उद्यमशीलताको बाटो। आफ्नो मेहनतको कमाइले गाडी किन्दै व्यवसायिक यात्रामा होमिएका छन्।
छोटो समयमै अनेकौं ठाउँमा हात आजमाएर पनि हार नमान्ने कमल सिंह जस्ता युवाहरू नै देशका वास्तविक प्रेरणादायी पात्र हुन्। असफलता, अवसरको कमी, र राजनीतिक अस्थिरताले बाधा पुर्याउँदा पनि उनले विदेशतिर दृष्टि नफेरि स्वदेशमै केही गर्ने संकल्प बोके।
आज धेरै युवा वैदेशिक रोजगारीको सपनामा विदेश पस्ने भीडमा छन्। तर कमल सिंहले भने – “जे गर्छु, यही देशमै गर्छु” भन्ने साहसिक धारणा बोकेर निरन्तर सक्रियता देखाइरहेका छन्। उनी जस्तै युवाले यदि आफ्नो लगन र परिश्रमलाई स्वदेशमै प्रयोग गर्ने हो भने नेपालमा अवसर र सम्भावनाको अभाव छैन।
कमल सिंहको यो संघर्ष र यात्राले देशको राजनीतिक अस्थिरताले सिर्जना गरेको वातावरणको वास्तविकता पनि झल्काउँछ। युवा दीर्घकालसम्म एउटै जागिरमा स्थायित्व पाउन सक्दैनन्, राजनीतिक प्रभाव र असमान अवसरका कारण धेरैजना निराश हुन्छन्। तर पनि, साहस, आत्मबल र सकारात्मक सोचले कसरी नयाँ बाटो देखाउन सक्छ भन्ने उदाहरण हुन्—कमल सिंह।
उनको आगामी यात्रा कहाँ पुग्छ भन्ने कुरा भविष्यले बताउनेछ। तर अहिलेको अवस्थाले एउटा कुरा प्रष्ट हुन्छ—देशलाई आवश्यकता छ यस्ता युवाको, जसले असफलतालाई पनि अवसरमा बदल्न सक्छ र स्वदेशमै केही गर्ने अठोट बोकेर अघि बढ्छ।
कमल सिङ ङ एक युवा प्रतिनिधित्व गर्ने पात्र हुन समाजमा युवाहरुको थुप्रै यस्ता प्रेरणादायी यात्रा छ।
कमल सिङ ङ लगाएतका अहिलेका युवाहरुलाई निरन्तर सङ्घर्षरत हुने हौसला मिलोस् शुभकामना छ।