वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्रकृष्ण औँसीका दिन कुशे औँसी पर्व श्रद्धापूर्वक मनाइ रहेका छन् । यस दिन घर–घरमा देवकार्य तथा पितृकार्यका लागि प्रयोग हुने पवित्र कुश भित्र्याइन्छ ।
शास्त्रीय मान्यताअनुसार आज ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलेको कुश वर्षभर प्रयोग गर्न सकिने विश्वास छ । अरु दिन उखेलिएको कुश भने सोही दिन मात्र उपयोग गर्न सकिने धार्मिक परम्परा छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार कुश, तुलसी, पीपल र शालिग्राम भगवान् विष्णुको प्रतिक मानिन्छन् ।
यस अवसरमा छोराछोरीहरूले बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर प्रकट गर्ने गर्छन् भने दिवंगत बाबु हुनेहरूले गोकर्णेश्वर, वेत्रावतीलगायतका तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदादान गर्दछन् । विशेषगरी काठमाडौंस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आजको दिन ठूलो मेला लाग्ने गरेको छ । रसुवा–नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा समेत पितृश्राद्ध गर्न ठूलो भीड लाग्ने गरेको छ ।
धर्मग्रन्थहरूमा आजको दिन जीवित बाबुलाई श्रद्धापूर्वक भोजन खुवाई आशीर्वाद प्राप्त गरेमा सुख–समृद्धि प्राप्त हुने उल्लेख छ भने दिवंगत बाबुको स्मृतिमा श्राद्ध, तर्पण र दान गरेमा कुल स्थिर हुने विश्वास गरिएको छ । यस दिन थोरै दान गरे पनि हजारौँ गुणा फल प्राप्त हुने भएकाले पुण्य पर्वका रूपमा समेत कुशे औँसीलाई चिनिन्छ ।
मोती जयन्ती मनाइँदै
यसै दिन नेपाली साहित्यका युवाकवि तथा राष्ट्रिय विभूति मोतीराम भट्टको १६०औँ जन्मजयन्ती पनि देशभर विभिन्न साहित्यिक कार्यक्रमसहित मनाइँदैछ ।
वि.सं. १९२३ सालमा भाद्रकृष्ण औँसीका दिन जन्मेका भट्टको ३० वर्षको उमेरमा सोही दिन अर्थात् १९५३ सालमा निधन भएको थियो । उनले नेपाली साहित्यमा शृङ्गार रसलाई स्थापित गर्नुका साथै आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । साथै उनले नेपालमा पहिलोपटक छापाखाना भित्र्याई पत्रकारिताको सुरुआत समेत गरेका थिए ।
आजको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा विभिन्न साहित्यिक संस्थाले मोतीराम भट्टप्रति श्रद्धाञ्जलि अर्पण गर्दै साहित्यिक कार्यक्रम आयोजना गरेका छन् ।