नेभिगेशन
समाचार

सोरु गाउँपालिकामा करोडौंको आर्थिक घोटाला : पदमुक्त अधिकृतले नै गरे अनधिकृत भुक्तानी

 गाउँपालिकामा शक्तिको दुरुपयोग, कानुनी प्रावधानको खुलेआम उल्लंघन र राजनीतिक आडमा गरिएको ठूलो आर्थिक अनियमितता सार्वजनिक भएको छ । गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत (प्रमाख) को जिम्मेवारी सम्हालेका तिर्थबहादुर शाहीले पदबाट हटाइएपछि समेत करोडौँ रुपैयाँ अनाधिकृत रूपमा भुक्तानी गरेको तथ्य उजागर भएको हो ।

पद खारेजीपछि पनि करोडौंको भुक्तानी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ माघ ९ गते आदेश जारी गर्दै शाहीलाई पदमुक्त गर्दै गाउँपालिकाको खातामा समेत रोक लगाउन निर्देशन दिएको थियो । तर आदेशलाई बेवास्ता गर्दै उनले पदमुक्त भएको अवस्थामै करिब १ करोड रुपैयाँभन्दा बढी रकम विभिन्न शीर्षकमा भुक्तानी गरेको प्रमाण भेटिएको छ ।
सामान्यतया एउटै बिल भुक्तानी हुन हप्तौँ लाग्ने प्रक्रियालाई उनले एकै दिनमा दर्जनौँ भुक्तानी गरेर नियमको धज्जी उडाएका छन् ।

पहिले पनि अनियमिततामा संलग्न

यो पहिलो घटना मात्रै होइन । यसअघि पनि उनले विभिन्न विवादास्पद भुक्तानी गरेको प्रमाण भेटिएको छ ।

२०८१ असार २७ गते उनले ‘मिडिया’ शीर्षकमा २ लाख ८३ हजार ३७० रुपैयाँ आफ्नै नाममा भुक्तानी गरेका थिए ।

सोही समयमा ६० लाख रुपैयाँ बराबरको चेक काटिएको तर उजुरी दर्ता भएपछि मात्र रद्द गरिएको खुलासा भएको छ ।


कर्मचारी संलग्नताको आशंका

पदमुक्त भएपश्चात समेत चेक काट्ने र भुक्तानी प्रक्रियामा तत्कालीन लेखा शाखाका कर्मचारी जेटबहादुर बुढा र बिमला कुमारी ढकालको संलग्नता रहेको आशंका गरिएको छ । ढकाल हाल सरुवा भइसकेकी छन् भने बुढाको नाम समेत कर्मचारी विवरणमा छैन । यसले अनियमितता सुनियोजित गिरोहगत रूपमा भएको संकेत देखाउँछ ।

पालिका अध्यक्ष मौन

घटनापछि छानबिन र दोषीलाई कारबाही गर्ने जिम्मेवारी गाउँपालिका अध्यक्ष धर्मराज शाहीको काँधमा छ । तर उनले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । अनौपचारिक भेटघाटमा उनले “धेरै बदमासी भएको छ” भनेर स्वीकार गरे पनि कारबाहीका लागि कुनै कदम नचाल्दा स्थानीयवासीबीच शंका उब्जिएको छ । कतै अध्यक्षकै मौन सहमति वा मिलेमतोमा घोटाला भएको त ? भन्ने प्रश्न उठेको छ ।

राजनीतिक आडमा सुरक्षित ?

शाही नेपाली कांग्रेसका नेता तथा हालका संघीय वनमन्त्री ऐनबहादुर शाही ठकुरीका भाइ हुन् । स्थानीयवासीले दाजुको राजनीतिक आडकै कारण तिर्थबहादुर पटक–पटक इच्छाअनुसार फाँट सम्हाल्दै आएको र अहिले पनि मन्त्रालयकै ‘न्यानो काख’ मा सुरक्षित रहेको आरोप लगाएका छन् ।

जनआक्रोश र प्रश्न

घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । “जिम्मेवारीबाट हटाइएका व्यक्तिले करोडौं खर्च गर्ने अधिकार कसरी पायो ? मन्त्रालयको आदेशलाई धज्जी उडाउनेलाई कारबाही किन भएको छैन ?” भन्ने प्रश्न जनताबीच गुञ्जिरहेको छ ।
संघीयता र स्थानीय सरकारलाई जनमुखी बनाउन ल्याइएका संरचनामा यस्ता घटना ‘चोरलाई चौतारो’ बनाइदिएको भन्दै छानबिन र कठोर कारबाहीको माग तीव्र रूपमा उठेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update