नेभिगेशन
समाचार

धान उत्पादनमा आत्मनिर्भरता सरकारको प्राथमिकता : कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गरी खाद्य सुरक्षा सुनिश्चित गर्न र आत्मनिर्भर बन्नु सरकारको शीर्ष प्राथमिकता रहेको बताएका छन्।

बिहीबार मन्त्रालयमा अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी) का एशिया निर्देशक डा. जोङ्ग सूसँगको भेटवार्तामा मन्त्री अधिकारीले उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउने दिशामा मन्त्रालयले विशेष ध्यान दिएको बताए।

उनका अनुसार मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्य कार्यान्वयन तथा धान–चामल उद्योगसँग सहकार्य जस्ता कार्यक्रममार्फत धान उत्पादन वृद्धि गर्ने प्रयास भइरहेको छ। मन्त्री अधिकारीले जलवायु परिवर्तनले धान उत्पादनमा प्रत्यक्ष असर पारिरहेको बताउँदै, जलवायु सहनशील उन्नत जात विकासमा इरीले पु¥याएको योगदानको प्रशंसा गरे।

“हामीलाई इरीको थप साथ र सहयोग आवश्यक छ। प्रोजेक्ट नहुँदा पनि धान अनुसन्धान र विकासमा इरीको विशेषज्ञता उपयोग गर्न सरकार फण्ड व्यवस्थापन गर्ने दिशामा अघि बढिरहेको छ,” मन्त्री अधिकारीले स्पष्ट पारे।

सो अवसरमा इरीका एशिया निर्देशक डा. जोङ्ग सूले नेपाल सरकारसँग भएको सहकार्यप्रति आभार प्रकट गर्दै भविष्यमा अझ घनिष्ठ साझेदारीमार्फत नेपालमा धान उत्पादन वृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update