नेभिगेशन
समाचार

सागर परियारलाई ‘सर्वोत्तम पत्रकार पुरस्कार’, कोदो पत्रकारितामा दशकको योगदानको कदर

कोदो सम्बन्धी उत्कृष्ट पत्रकारिताका लागि जुम्लाका पत्रकार सागर परियारलाई ‘सर्वोत्तम पत्रकार पुरस्कार’ प्रदान गरिने भएको छ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा शुक्रबार सम्पन्न राष्ट्रिय कोदो दिवस २०८२ का अवसरमा उत्कृष्ट पत्रकार घोषणा गरिएको हो।

कर्णालीलाई पत्रकारिताको केन्द्र बनाउँदै करिब एक दशकदेखि कृषिसम्बन्धी रिपोर्टिङ गर्दै आएका परियारलाई कोदोजन्य बालीसम्बन्धी गहन, तथ्यपरक र जनचेतनामूलक सामग्री प्रकाशन गरेबापत ‘सर्वोत्तम पत्रकार’को रुपमा छनोट गरिएको आयोजक अनाजले जनाएको छ। परियार कारोबार दैनिक र रेडियो नेपालका संवाददाता समेत हुन्।

उनसँगै बिजमाण्डू डटकमकी सरला सुवेदी र कारोबार दैनिककी कोशिला कुँवरलाई ‘उत्कृष्ट पत्रकार पुरस्कार’ प्रदान गरिने भएको छ। त्यस्तै नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुरा रेडियो अमरगढीकी भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ दिने घोषणा गरिएको छ।

अनाजले सातै प्रदेशका पत्रकारहरूलाई आह्वान गरी प्राप्त सामग्रीमध्ये उत्कृष्ट पाँचजनालाई पुरस्कारको लागि छनोट गरेको थियो।

गत वर्षदेखि प्रारम्भ गरिएको कोदो पत्रकारिता पुरस्कारलाई यस वर्षदेखि औपचारिकता दिँदै राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। कार्यक्रममा सहभागीहरूले कोदोलाई वैज्ञानिक, व्यावसायिक र संस्थागत रूपमा अघि बढाउन पत्रकारिताको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखेका छन्।

पुरस्कृत पत्रकारहरूलाई कृषि मन्त्रीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष समारोहमार्फत सम्मान गरिनेछ। पुरस्कार राशिबारे भने आयोजकले खुलाएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update