नेभिगेशन
समाचार

भेरी नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

लगातारको वर्षासँगै भेरी नदीमा पानीको सतह उच्च भएपछि जाजरकोट र डोल्पा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेका छन्।

जाजरकोटको भेरी नगरपालिका–१, रिम्नामा रहेको भेरी रिम्जलमापन केन्द्रमा जलसतह खतराको तह नजिक पुगेको सूचना आएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सतर्कता जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, "जलसतह बढ्दो क्रममा छ। खतरा तह आसपास पुगेको हुँदा नदी किनारका बस्तीमा रहने सबै नागरिकले सतर्कता अपनाउनु आवश्यक छ। स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ।"

उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरी प्रशासनलाई पनि तयारी अवस्थामा राखिएको छ।

यसैबीच, डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि भेरी नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अपिल गरेका छन्। “हाल अवस्था नियन्त्रणमै देखिए पनि सतर्कता जरुरी छ,” महतले बताए।

प्रशासनले नदी किनारमा नजाने, बच्चाहरूलाई नियन्त्रणमा राख्ने, पशुचौपाया सुरक्षीत स्थानमा सार्ने र कुनै पनि आपतकालीन अवस्थाका लागि स्थानीय प्रशासन वा सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update