नेभिगेशन
समाचार

अम्मर ज्योति मा वि वीरेन्द्रनगरमा ३३ कोठे विद्यालय भवनको मुख्य मन्त्रीद्वारा शिलान्यास

वीरेन्द्रनगर, सुर्खेत – कर्णाली प्रदेश सरकारद्वारा वीरेन्द्रनगर नगरपालिका–१२ मा अवस्थित श्री अमरज्योति माध्यमिक विद्यालयको ३३ कोठे नवनिर्माणाधीन विद्यालय भवनको शिलान्यास समारोह भव्यताका साथ सम्पन्न भएको छ।


मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेश सरकारको पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ ४६ पैसाको लागतमा निर्माण हुन लागेको शैक्षिक भवन आगामी २०८३ सालको पुष १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। भवन निर्माणको जिम्मा हेटौँडा स्थित श्रीमान कन्स्ट्रक्सनलाई दिइएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले शैक्षिक सुधारको आवश्यकता औंल्याउँदै अबको शिक्षा प्रणाली व्यवहारिक, प्रविधिमैत्री र नवीन हुनुपर्नेमा जोड दिए। “हामी अझै परम्परागत पद्धतिमा अडिएका छौं, अब पाठ्यक्रमदेखि मूल्याङ्कन प्रणालीसम्म आमूल परिवर्तन गर्नुपर्छ,” मुख्यमन्त्रीले भने।


 सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षालाई राज्यको प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे। “शिक्षालाई जीवन उपयोगी बनाउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ,” उनले उल्लेख गरे।

 कर्णाली प्रदेशको भौगोलिक चुनौतीलाई सम्बोधन गर्दै शिक्षामार्फत दीर्घकालीन विकास सम्भव हुने विश्वास व्यक्त गरे। उनले विद्यालय भवन निर्माणसँगै सुर्खेत विमानस्थल विस्तारजस्ता विकास परियोजनाहरू पनि थप सहज हुने धारणा राखे।


कार्यक्रममा  नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, शिक्षा विकास निर्देशनालय प्रमुख दिपा हमाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण प्रसाद पौडेललगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै नवनिर्माण भवनले सिकाइ वातावरणमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे।


कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा शिक्षा क्षेत्रसँग जोडिएका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
यो शिलान्यास समारोहले शिक्षालाई सामाजिक रूपान्तरणको माध्यम बनाउने दिशातर्फ एक सार्थक पाइला चालेको सकारात्मक सन्देश दिएको छ। कर्णालीको भविष्य उज्यालो बनाउने अभियानमा यो आयोजनाले ऐतिहासिक महत्त्व राख्नेछ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update