नेभिगेशन
समाचार

साउने सङ्क्रान्ति आज देशभर हर्षोल्लासका साथ मनाइँदै, जाजरकोट कुसे गाउँपालिका वडा नं ३ दतिवर मा लुतो फाल्न नपर्ने परम्परा

प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, र आफन्तसँग मिलेर हर्षोल्लासका साथ मनाइएको छ। सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने आजको दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा रहिआएको छ।

आजदेखि सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले धार्मिक रूपमा विशेष मानिने यो दिन बिहानै स्नान गरी शिवालयमा पूजाआजा गर्ने चलन रहेको छ। विशेष गरी महिलाले हरियो चुरा, रातो पहिरन र हरियो कपडा लगाएर भगवान् शिवको आराधना गर्छन्। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ।

साउने सङ्क्रान्तिको दिन परम्पराअनुसार कागभलायो, कुकरडाइनो, पानीअमला, लुतेझारलगायत वनस्पति राखी ‘कण्डारक’ राक्षसको पूजा गरी अगुल्टो हान्ने र लुतो फाल्ने चलन छ। यस क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टी बजाउने र ढोका बन्द गर्ने परम्परा पनि निभाइन्छ।

कृषक समुदायका लागि पनि यो दिन विशेष मानिन्छ, किनकि साउन १ मा एक महिनाको मेहनतपछि उनीहरू आफन्तसँग रमाइलो गर्ने अवसर पाउँछन्। जाजरकोटको कुसे गाउँपालिकास्थित रमाल मन्दिरमा भने पूजाआजा गरेपछि लुतो फाल्न नपर्ने परम्परा रहेको छ।

यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ—साउन ५, १२, १९, र २६ गते। शिवजीको विशेष आराधनाका रूपमा साउन महिनाका सोमबारलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। पशुपति क्षेत्र विकास कोषका अनुसार सोमबार र साउन महिनामा भक्तजनको उल्लेख्य भीड रहने गरेको छ।

साउन महिनाले सुख, शान्ति र समृद्धिको कामना गर्दै धर्म, संस्कृति र परम्पराको समृद्ध भावनालाई झल्काउँछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update