निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका छन्। झापाको कनकाई नगरपालिका–१ मा आयोजित एक विशेष कार्यक्रममा उनले सत्ता सहकार्यबारे स्पष्ट धारणा व्यक्त गर्दै सत्ता हस्तान्तरणको खाका सार्वजनिक गरेका हुन्।
भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बासिन्दालाई जग्गा धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “सरकार ढल्छ, ढल्छ भनेर कराउनेहरूले कराइरहून। सरकार गठन भएको एक वर्ष भइसक्यो। आगामी एक वर्ष म प्रधानमन्त्रीका रूपमा रहन्छु। त्यसपछि नेपाली कांग्रेसका सभापति तथा मेरो लोकतान्त्रिक यात्राका सहयात्री शेरबहादुर देउवालाई सहमतिअनुसार नेतृत्व हस्तान्तरण गरिनेछ। हामीबीच सहकार्य निर्वाचनसम्म कायम रहनेछ।”
कार्यक्रममा भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाको आयोजनामा कनकाई नगरपालिकाका दुई सय जनालाई जग्गाको धनीपुर्जा वितरण गरिएको थियो। प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि छिट्टै कानुन निर्माण गरिने जानकारी पनि दिए। उनले राज्यले उपलब्ध गराएको जमिन खेर नजान दिने भन्दै ठूला चकमा बाँडफाँड गरी व्यावसायिक कृषि प्रणालीतर्फ अघि बढ्न आग्रह गरे।
“हामीले नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ। जमिन दिएको छौँ, अब त्यसको सदुपयोग गरी आर्थिक समृद्धिको यात्रा अघि बढाउन आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने।
सोही कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गाको धनीपुर्जा वितरण गरिने योजना रहेको जानकारी दिए। उनले आयोगले हालसम्म उल्लेखनीय कार्य सम्पन्न गरिसकेको र बाँकी कार्यलाई थप प्रभावकारी ढंगले अघि बढाइने बताए।