सिरहा नगरपालिका–६ अन्तर्गतको भुस्कुलिया टोलमा हालै निर्माण सम्पन्न भएको पक्की आरसीसी सडकले स्थानीयको जीवनशैलीमा ऐतिहासिक परिवर्तन ल्याएको छ। झण्डै डेढ सय घरधुरी रहेको यो बस्ती अब हिलो र धुलोमुक्त बनेको छ, जुन दशकौँदेखिको ठूलो सपना थियो।
बाँसको टाटी र माटोले बनेका घरहरूले भरिएको यो बस्तीमा हाल बनेको करिब पाँच सय मिटर लामो आरसीसी सडक टाढैबाट टल्किन्छ। मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँ बजेटमा बनेको यो सडकले बस्तीको पुरानै स्वरूप बदलिदिएको छ।
वडाध्यक्ष इन्द्रजित यादवले प्रदेशसभा सदस्य प्रमोद यादवसँगको समन्वयमा परियोजना अघि बढाएको बताउँदै भने, ‘चुनावअघि वाचा गरेका थियौं, हिलोमुक्त गाउँ बनाउँछौं। आज त्यो वाचा पूरा भएको छ।’ उनका अनुसार सडक नबन्दा सानो पानी पर्नासाथ बस्ती जलमग्न हुन्थ्यो भने, धुलोले स्वास्थ्यमा समेत असर गर्थ्यो। अब भने टोल टल्किएको छ।
स्थानीय बासिन्दा सोनु यादवले बस्तीमा आएको परिवर्तनप्रति उत्साह व्यक्त गर्दै भने, ‘पहिले पाहुना बोलाउन लाज लाग्थ्यो। अब त बच्चा स्कुल जान सजिलो भएको छ, बुढाबुढी पनि हिँडडुल गर्न पाउँछन्।’
वडाध्यक्ष यादवका अनुसार यो बस्ती निम्न आर्थिक अवस्थाका परिवारहरूको बसोबास भएको क्षेत्र हो, जहाँ पाँच घर मात्र पक्की थिए। सडकको प्राथमिकता स्थानीय अवस्था बुझेर तय गरिएको उनले बताए।
पूर्वाधार विकास कार्यालयका प्राविधिक राजु यादवले ग्रामीण बस्तीमा आरसीसी ढलान प्रविधि दीगो र उपयुक्त हुने बताउँदै भने, ‘धुलो, हिलो, गाईवस्तुको मलमुत्र र नाली व्यवस्थाको अभावले कालोपत्र सडक छिट्टै बिग्रिन्छ। आरसीसी सडक टिकाउ हुन्छ।’
भुस्कुलिया टोलको यो सफल सडक परियोजनाले अब प्रदेशका अन्य पिछडिएको बस्तीमा पनि आधारभूत पूर्वाधार विकासको नयाँ आशा जगाएको छ। बस्तीका लागि यो केवल एक सडक मात्र होइन, सम्मान, सहज जीवनशैली र उज्यालो भविष्यको सुरुवात हो।