नेभिगेशन
समाचार

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ।

जाजरकोट — डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ। आइतबार कार्यालय समयमै अज्ञात समूहले कार्यालयभित्र प्रवेश गरी प्रमुख शाहमाथि हातपात गरेको हो।

घटनाबारे जानकारी दिँदै प्रमुख शाहले कार्यकक्षमा नियमित कामकाजका क्रममा ३–४ जना व्यक्तिहरू आक्रोशित मुद्रामा प्रवेश गरी दुर्व्यवहार गर्दै आफूलाई थिचथाच पार्दै कुटपिट गरेको बताए। "म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी केही मानिसहरू आक्रोशित ढंगले पसेर गालीगलौज गर्दै आक्रमण गरे," शाहले भने।

कुटपिटबाट सामान्य चोटपटक लागेको उनले बताएका छन्। केही दिनअघि तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भएको भिडियोका कारण आलोचना खेपिरहेका शाहले सोही घटनालाई लिएर नियोजितरूपमा आफूमाथि कुटपिट गराइएको दाबी गरेका छन्।

"त्यो भिडियो कार्यालय समय बाहिरको हो, तर त्यसलाई लिएर चरित्र हत्या गर्न प्रयास गरिएको छ," शाहले भने, "गल्ती गरे कानुनी प्रक्रिया अपनाओस्, कुटपिट गर्ने अधिकार कसैलाई छैन।"

जिल्ला प्रहरी कार्यालय जाजरकोटले आक्रमणकारीको पहिचान भइनसकेको तर अनुसन्धान अगाडि बढाइएको जनाएको छ। "घटनास्थलको सिसिटिभी फुटेज संकलन गरिएको छ, दोषी पहिचान गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइन्छ," प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update